कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा वितण्डा मच्चाउँदै आएको पुच्छर नभएको ‘लिणे’ हात्तीमा रेडियो कलर (जिपिएस) जडानको अन्तिम तयारी गरिएको छ।
स्थानीयको घरगोठ भत्काउने र मानवीय क्षति पुर्याउने क्रम बढेपछि निकुञ्ज प्रशासनले चितवनबाट रेडियो कलर मगाएर केही दिनभित्रै जडान गर्ने गृहकार्य तीव्र पारेको हो।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार चितवनबाट शनिबार साँझ नै उपकरण शुक्लाफाँटा आइपुगेको छ। अब प्राविधिक टोलीको सहयोगमा हात्तीको लोकेसन पत्ता लगाई बेहोस बनाएर कलर जडान गरिनेछ।
पुच्छर नभएका कारण स्थानीयले यसको नाम ‘लिणे’ राखेका हुन्। यसले गत वर्ष लालझाडीको ढक्का र भीमदत्त नगरपालिकाको बनकट्टीमा गरी दुई जनाको ज्यान लिइसकेको छ। पछिल्लो समय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको रणसिंह दल गणको सक्रियताका कारण थप मानवीय क्षति हुन पाएको छैन।
प्रमुख संरक्षण अधिकृत अर्यालले भने, ‘पाटेबाघ र गैँडा गणनाका बेला विगतमा रेडियो कलर प्रयोग गरिन्थ्यो। तर, बस्तीमा जनधनको क्षति रोक्न हात्तीमा यो प्रविधि जडान गर्न लागिएको यहाँ पहिलो पटक हो।’ कलर जडानपछि हात्तीको सूक्ष्म निगरानी गरी बस्ती प्रवेश रोक्ने निकुञ्जको रणनीति छ।
तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा वरपर हरेक वर्ष हात्तीले दुःख दिँदै आएका छन्। यसैबीच, एक साताअघि बेल्डाँडीमा आयोजित कार्यक्रममा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले ‘लिणे’ हात्तीमा तत्काल रेडियो कलर जडान गरिने घोषणा गरेका थिए।
मन्त्री चौधरीकै पहलमा यो प्रक्रिया द्रुत गतिमा अघि बढेको निकुञ्ज प्रशासनले जनाएको छ।
प्रकाशित: १५ कार्तिक २०८३ १६:४३ आइतबार