समाज

काँचो स्याउले खस्किँदै गुणस्तर, कर्णालीको ब्राण्डमा धक्का

बाँकेस्थित कोहलपुरमा कर्णालीबाट ल्याइएका स्याउ । तस्विरः गणेश विशु/नागरिक

नेपालगन्जको एक साँघुरो तर जनचहलपहलले भरिएको फलफूल बजार । एकतिर राताम्य र हरियो मिश्रित रङ्गका स्याउका थुप्रा, अर्को पाटोमा विदेशी स्याउका चम्किला बाकस ।

‘यो कर्णालीको स्याउ हो ?’ ग्राहकले सोध्छन् ।

‘हो, तर स्वाद हेर्नुस्, अलिक अमिलो छ,’ व्यापारी उत्तर दिन्छन् ।

त्यो अमिलोपन मिठासको सट्टा निराशा बनिसकेको छ, कर्णालीको स्याउको छविमा ।

अहिले नेपालगन्ज र कोहलपुरका बजारमा विशेष गरी कालीकोटबाट आएको स्याउ छरपस्ट छ । 

जुम्ला र मुगुका स्याउ भने लुकीछिपी केही मात्रामा आएको भए पनि खुला रूपमा आउन सकेका छैनन् । कालीकोटबाट आएका धेरै स्याउ अझै पाकेका छैनन् । टर्रो, अमिलो र गुणस्तरहीन छ । किसान र व्यापारीले स्याउ भदौ महिनामा मात्र पूर्ण रूपमा पाक्ने बताउँछन् । तर, तत्काल नाफा खोज्ने प्रवृत्तिले नपाक्दै बजार पठाउने प्रचलन बढेको छ ।

स्याउ व्यापारी डिलमाया बोहराले केही दिन कालीकोटबाट स्याउ मगाइन् । ‘देखाउँदा सबै स्याउ पाकेको थियो । गुणस्तरीय पनि देखिन्थ्यो,’ उनी भन्छिन्, ‘तर कोहलपुर आइपुग्दा १० कार्टुनबाहेक बाँकी सबै काँचो रहेछ ।’ यसले मात्र होइन, मूल्य पनि पातलो भयो । ६० रुपैयाँ प्रतिकिलोमा बेच्न पनि मुस्किल प¥यो । व्यापारी रामचन्द्र पराजुलीको अनुभव पनि फरक छैन । उनी भन्छन्, ‘बिचौलियाले बाहिरबाट पाकेको देखाउने तर भित्र काँचो राख्ने गर्छन् । यसरी धोका खाँदा हामी मात्र होइन, उपभोक्ता र किसान सबैको विश्वास घट्छ ।’

नेपालगन्जको ठूला सुपरमार्केट र थोक बजारमा चाइनिज र भारतीय स्याउ बाकसमा, आकर्षक स्टिकरसहित, ग्रेडिङ गरेर बिक्रीमा छन् ।

तर, कर्णालीको स्याउ ?

न ग्रेडिङ, न प्याकेजिङ—थोरै धुलो, थोरै दाग लागेका र धेरै बेरुजुपन ।

‘उत्पादन राम्रो भए पनि बजारीकरणमा यति धेरै कमजोरी छ कि, हामीले स्याउको ब्रान्डै जोगाउन सकिरहेका छैनौँ,’ स्थानीय व्यापारी भन्छन् । कर्णालीको स्याउ वर्षौँदेखि मिठास, प्राकृतिकपन र अर्ग्यानिक उत्पादनको प्रतीक मानिँदै आएको थियो । तर, पछिल्ला वर्षमा गुणस्तरमा गिरावट आएको गुनासो बढेको छ । कालीकोटको काँचो स्याउले जुम्ला र मुगुको स्याउको प्रतिष्ठामा पनि नकारात्मक असर पारेको व्यापारीहरूको बुझाइ छ ।

डिलमाया बोहरा स्पष्ट धार राख्छिन्, ‘राज्यले नपाक्दै स्याउ बजार ल्याउनै नदिनु पर्छ ।’ व्यापारी र कृषिविद्हरू भन्छन्, आवश्यक नियम, ग्रेडिङ प्रणाली र प्याकेजिङ प्रविधि लागू नगरेसम्म कर्णालीको स्याउको ब्रान्ड फेरि चम्किन गाह्रो हुन्छ । साथै, किसानलाई तत्काल आम्दानीभन्दा दीर्घकालीन ब्रान्ड मूल्यको महत्त्व बुझाउनुपर्ने आवश्यकता छ ।

कर्णालीको स्याउ केवल एउटा फल होइन, यो पहाडको मेहनत, मौसमको उपहार र संस्कृति पनि हो । तर, काँचोपनले यसको मिठास हराउँदै गएको छ । बजारमा उपभोक्ताले पहिलो पटक चाखेको स्याउ यदि अमिलो र टर्रो भयो भने, दोस्रो पटक किन्ने सम्भावना घट्छ । ब्रान्ड एक दिनमा बन्छैन—तर नपाकेको स्याउको एउटा कार्टुनले वर्षौँको प्रतिष्ठा एक क्षणमै बिगार्न सक्छ ।

कर्णालीबाट आएको स्याउमा स्वादिलो गुम्दै गएको कोहलपुरका बीरबहादुर शाह बताउँछन् । ‘कर्णालीको स्याउ भन्नासाथ खान मन लाग्छ,’ उनले भने, ‘काँचो स्याउ भए पनि किनिन्छ तर, स्वाद हुँदैन ।’ यसले कर्णालीको स्याउको ब्राण्डमा समेत नराम्रो प्रभाव पारेको उनको भनाइ छ । व्यापारीका अनुसार यी स्याउ प्रायः समयअघि नै तोडिन्छन्, जसका कारण टर्रो र अमिलो स्वादका हुन्छन् । नेपालगन्जका एक जना थोक व्यापारी भन्छन्, ‘ग्राहकलाई कर्णालीको स्याउ भनेर बेच्छौँ, तर स्वाद राम्रो नभएपछि अर्को पटक लिनै छाड्छन् । यसले जुम्ला र मुगुका स्याउको प्रतिष्ठा पनि घटाउँछ ।’

समाधानका सुझाव

– गुणस्तर परीक्षण र परिपक्वता मापन अनिवार्य

– साइज, रङ्ग, स्वादअनुसार ग्रेडिङ र प्याकेजिङ

– हिमाली जिल्लाबाट छिटो र सुरक्षित ढुवानीको सुविधा

– किसान र व्यापारीबिच प्रत्यक्ष व्यापारिक सम्झौता

– नपाकेको स्याउ बजार पठाउनेलाई कारबाही

ब्रान्ड जोगाउने बाटो

– कर्णालीको स्याउको ब्रान्ड पुनर्जीवित गर्नका लागि स्पष्ट रणनीति आवश्यक छ ।

– समयअघि तोडिएको स्याउ बजारमा प्रवेश रोकिनु पर्छ ।

– स्याउको ग्रेडिङ र प्याकेजिङ अनिवार्य हुनुपर्छ ।

– किसानलाई ब्रान्डको मूल्यबारे सचेत गराउनुपर्नेछ ।

– राज्यले बजारीकरण नियमन र गुणस्तर परीक्षण प्रणाली लागू गर्नुपर्नेछ ।

प्रकाशित: २९ श्रावण २०८२ १८:०४ बिहीबार