भोटेकोशी र त्रिशूलीको विनाशकारी बाढीले थुपारेको हजारौं टन लेदो, ढुङ्गा र जलमग्न सुरुङको घोर अन्धकार चिर्दै चार जिन्दगी मृत्युको मुखबाट जीवितै फर्किएका छन्।
बाढी आएको १०औं र ११औं दिनसम्म भोक, प्यास र अक्सिजनको चरम संकटसँग जुध्दै कङ्क्रिटको भग्नावशेष र पातालजस्ता सुरुङबाट उनीहरू सकुशल बाहिरिन सफल भएका हुन्।
१ हजार ३ सयभन्दा बढी नागरिकको ज्यान लिइसकेको महाविपत्तिबीच यी चार जीवनको पुनरागमनले सिङ्गो राष्ट्रमा आशाको नयाँ किरण छरिदिएको छ।
शुक्रबार त्रिशूली ३ ‘ए’ को सुरुङभित्र २१६ घण्टा बिताएर नयाँ जीवन पाएका सञ्जय साह र कबिर महर्जनपछि शनिबार थप दुई चामत्कारिक उद्धार भएका छन्।
माथिल्लो त्रिशूली-१ को जलमग्न टनेलमा ताल बनेको लेदोमाथि डुङ्गा चलाएर उद्धार टोलीले एक चिनियाँ प्राविधिकलाई सकुशल बाहिर निकालेको छ भने उता बेत्रावतीमा चारतले घरको भग्नावशेषमुनि दबिएकी ६० वर्षीया चण्डिका श्रेष्ठलाई चिच्याएको आवाजका भरमा ११ दिनपछि जीवितै उद्धार गरिएको छ।
अझै करिब ५ हजार नागरिक बेपत्ता रहेको त्रासदीपूर्ण घडीमा, लेदो पन्छाउँदै खटिएका ९ हजार ३ सय सुरक्षाकर्मीका लागि अन्धकार चिरेर फर्किएका यी चार सास नै खोजी अभियानलाई अगाडि बढाउने सबैभन्दा ठूलो प्रेरणा बनेका छन्।
शनिबार दिउँसो नुवाकोटको विदुर नगरपालिका-१० बेत्रावती बजारस्थित बाढीले पुरेको आनन्द श्रेष्ठको चारतले घर वरपर सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खोजीमा जुटेको थियो। भदौ १० गतेको बाढीले यो बस्तीका अधिकांश घरहरूलाई लेदो र गेग्रानको ढिस्कोमा परिणत गरिदिएको थियो।
खोजीकै क्रममा भग्नावशेषभित्रबाट महिला कराएको मधुरो आवाज सुरक्षाकर्मीको कानमा पर्यो। सशस्त्र प्रहरी बल, नेपालका इन्स्पेक्टर सुमन बिकको कमान्डमा रहेको टोलीले आवाज पछ्याउँदै हात, गल र साबेलको मद्दतले युद्धस्तरमा लेदो पन्छाउन थाल्यो।
करिब दुई घण्टाको कठिन प्रयासपछि आनन्द श्रेष्ठकी ६० वर्षीया श्रीमती चण्डिका श्रेष्ठलाई जीवितै बाहिर निकालियो। बाढीले घरका तल्ला तलाहरू पुरेपछि हावा छिर्ने एउटा सानो खोपिल्टोमा उनी ११ दिनदेखि अर्धचेत अवस्थामा बाँचिरहेकी थिइन्।
सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार गम्भीर तर स्थिर अवस्थामा रहेकी चण्डिकालाई प्राथमिक उपचारपश्चात् थप उपचारका लागि तत्कालै हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ।
बेत्रावतीमा चण्डिकाको उद्धार भएको केही समयमै रसुवाको हाकुस्थित २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्र अर्को अभूतपूर्व दृश्य देखियो।
नेपाली सेना र दक्षिण कोरियाको विपद् व्यवस्थापन विज्ञ टोली आयोजनाको ‘अडिट-४’ सुरुङभित्र रबरको डुङ्गा लिएर प्रवेश गरेको थियो। बाढीले भित्र स्काभेटर, टिपर र ढुङ्गासहितको गेग्रान पसाएपछि पानी थुनिएर सुरुङभित्रै ठूला तीनवटा पोखरी बनेका थिए।
उद्धारमा सहभागी एक अधिकारीका अनुसार पहिलो पोखरी पार गरेर दोस्रो पोखरीमा पुग्दा भित्ताको ओभानो भागमा एक चिनियाँ प्राविधिक जीवितै फेला परे।
बाढीको ११औं दिनमा उद्धार गरिएका उनलाई तत्काल नुवाकोटको त्रिशूलीस्थित मैथिल ब्यारेक पुर्याइयो र त्यहाँबाट हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ। उद्धार टोली अहिले सोही सुरुङको तेस्रो पोखरीतर्फ अगाडि बढिरहेको छ।
यसअघि शुक्रबार ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ‘ए’ आयोजनाको भूमिगत विद्युत्गृहबाट दुई नेपाली श्रमिकलाई सकुशल निकालिएको थियो।
कोइलाडी-८, सप्तरीका सञ्जय साह र बालकुमारी, काठमाडौंका कबिर महर्जनले सुरुङभित्र २१६ घण्टा (९ रात १० दिन) बिताएका थिए। बाढी पसेपछि भेन्टिलेसन नजिकैको अग्लो भागमा ओत लागेर ज्यान जोगाएका उनीहरूलाई शुक्रबार बिहान ८:५५ बजे बाहिर निकालिएको थियो। हाल उनीहरूको काठमाडौंस्थित सैनिक अस्पताल, छाउनीमा उपचार भइरहेको छ र स्वास्थ्य अवस्था सामान्य रहेको छ।
बेत्रावतीमा चण्डिका श्रेष्ठको जीवितै उद्धार भएपछि उद्धार टोलीले आफ्नो रणनीतिमा केही परिवर्तन गरेको छ। अहिलेसम्म सुरुङभित्र मात्रै मानिस फसेको अनुमान गरिएकामा अब बाढीले पुरेका आवासीय घरहरूमा पनि खोजी केन्द्रित गरिएको छ।
रसुवागढीदेखि धादिङको गलौँदीसम्म नदी तटीय क्षेत्रका सयौं घरहरू बाढीले पुरेको र कतिपय पल्टाएको छ। ती संरचनाहरूभित्र हावा छिर्ने खाली ठाउँ बनेका हुन सक्ने र त्यहाँ मानिसहरू जीवितै च्यापिएको हुनसक्ने देखिएको छ।
गृहमन्त्री सुधन गुरुङले राज्यका सम्पूर्ण सुरक्षा अङ्ग र प्राविधिक स्रोतहरूलाई सुरुङ र बस्तीका भग्नावशेष दुवैतर्फ समन्वयात्मक रूपमा परिचालन गरिएको जानकारी दिएका छन्।
सडक सम्पर्क टुटेका कारण उपकरण लैजान भएको अवरोध हटाउन नुवाकोटको विदुर नगरपालिका-५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ फौजका ५५ जनाको टोलीले ६० मिटर लम्बाइ, ५.५ मिटर चौडाइ र ५० टन क्षमताको एक्रो ब्रिज (बेलिब्रिज) तीव्र गतिमा जडान गरिरहेको छ।
यसैबीच, शनिबार दिउँसो १:०० बजेसम्म मात्रै नेपाली सेनाका हेलिकोप्टरहरूले विभिन्न दुर्गम प्रभावित इलाकाबाट १७ जना घाइते तथा बिरामीको सकुशल हवाई उद्धार गरेका छन्।
भौगोलिक रूपमा अत्यन्त कठिन मैलुङदेखि स्याफ्रूबेसीसम्मको क्षेत्रमा सेनाले स्थलगत पैदल गस्ती गरी खोजी जारी राखेको छ। त्रिशूली र धुन्चेमा स्थापना गरिएका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पट्रोलमार्फत हालसम्म ३ हजार २ सय ६६ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्म नेपाली सेनाका ९ हजार ३ सयभन्दा बढी फौज घाइतेको उद्धार, शव व्यवस्थापन, राहत ढुवानी र अवरुद्ध पूर्वाधार खुलाउन प्रत्यक्ष फिल्डमा खटिएका छन्।
प्रकाशित: २० भाद्र २०८३ १५:०९ शनिबार



