समाज

पदोन्नति भएका आठ प्राविधिक प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान

प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले पदोन्नति भएका आठ जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहमा उनले नवनियुक्त अधिकृतहरूलाई सुशोभित गर्दै शान्ति सुरक्षा र अपराध अनुसन्धानलाई थप प्रविधिमैत्री बनाउन निर्देशन दिए।

गृह मन्त्रालयको निर्णयअनुसार प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षकमा दुई जना, प्राविधिक प्रहरी निरीक्षकबाट नायव उपरीक्षकमा चार जना र प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकबाट निरीक्षकमा दुई जना गरी कुल आठ जना अधिकृतको पदोन्नति भएको हो।

दर्ज्यानी चिन्ह पाउनेहरूमा प्राविधिक प्रहरी उपरीक्षकहरू सुदन कुमार बिष्ट र उदय जंग बहादुर राणा, प्राविधिक प्रहरी नायव उपरीक्षकहरू धर्मानन्द भट्ट, सहकुल केसी, रितेश सिंह र उपेन्द्र कुमार ओझा, तथा प्राविधिक प्रहरी निरीक्षकहरू राजेन्द्र लामा र सुदन श्रेष्ठ रहेका छन्।

समारोहलाई सम्बोधन गर्दै आईजीपी थापाले पदोन्नतिलाई पेशागत दक्षता र कार्यकुशलताको मूल्याङ्कनको प्रतिफलको रूपमा लिन आग्रह गरे।

उनले भने, “पदोन्नतिसँगै बढेको जिम्मेवारीलाई उच्च नेतृत्व क्षमता र सकारात्मक सोचका साथ संगठनको हितमा लगाउनुहोस्।”

आईजीपी थापाले नागरिकमैत्री प्रहरी सेवाका लागि प्राविधिक जनशक्तिको भूमिका महत्वपूर्ण हुने बताउँदै प्रहरी सेवालाई समयसापेक्ष सुदृढ बनाउनुपर्नेमा जोड दिए।

सो अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट बोल्दै प्राविधिक प्रहरी उपरीक्षक सुदन कुमार बिष्टले आफूहरूले पाएको नयाँ जिम्मेवारीलाई पूर्ण व्यावसायिक निष्ठा र इमानदारीका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत अन्य वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: १२ श्रावण २०८२ १७:१९ सोमबार