सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई युवा समूहबीचको विवाद हिंसात्मक बनेपछि उत्पन्न तनाव साम्य पार्न सरकार गम्भीर नभएको आरोप लगाउँदै स्थानीयले मंगलबार पनि प्रदर्शन गरेका छन्। प्रदर्शनकारीले निषेधाज्ञा (कर्फ्यु) उल्लंघन गर्दै गृहमन्त्री सुधन गुरुङविरुद्ध नाराबाजी गरेका हुन्।
प्रदर्शनकारीहरूले घटनालाई नियन्त्रणमा लिन र प्रभावित क्षेत्रमा शान्ति स्थापना गर्न सरकार प्रभावकारी रूपमा नलागेको आरोप लगाए।
देवानगञ्ज गाउँपालिकाका अध्यक्ष वेचन मेहताले पनि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय सुनसरी घटनापछि आवश्यक सक्रियता देखाउन नसकेको बताए। उनका अनुसार सरुवा भएका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेले घटनालगत्तै देखाउनुपर्ने सक्रियता देखाउन सकेनन् भने नयाँ सीडीओ ईश्वरीप्रसाद अर्यालले पनि दुवै पक्षबीच समन्वय गरी समस्या समाधानतर्फ आवश्यक पहल नगरेको आरोप लगाए।
‘आज बिहान नयाँ सरुवा भएर आउनुभएका सीडीओसँग समन्वय गरेर अवस्था सहज बनाउन फोन गरेको थिएँ। उहाँले गर्छु भन्नुभएको थियो, तर अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन,’ मंगलबार दिउँसो अध्यक्ष मेहताले भने।
उनले आफ्नै पहलमा देवानगञ्ज गाउँपालिकाभित्रका सबै राजनीतिक दल तथा सरोकारवालासँग सद्भाव कायम गर्न अपिल गर्दै वार्ताको वातावरण बनाउन प्रयास भइरहेको जानकारी दिए।
गत आइतबार राति दुई पक्षबीच भएको झडपका क्रममा प्रहरीको गोली लागेर देवानगञ्ज गाउँपालिका–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा कम्तीमा २१ जना घाइते भएका छन्, जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
घटनापछि क्षेत्रको अवस्था अझै तनावग्रस्त रहेको छ। मंगलबार पनि दिनभर प्रदर्शनकारीले कर्फ्यु उल्लंघन गर्दै घटनास्थल आसपास प्रदर्शन गरेका थिए।
प्रकाशित: १२ श्रावण २०८३ १७:४१ मंगलबार