समाज

एक वर्षमा आन्दोलनका घटना बढे, सवारी आगजनी मात्रै १ हजार ६९६

नेपालमा आर्थिक वर्ष २०८२/८३ मा आन्दोलन, विरोध तथा प्रदर्शनका घटना उल्लेख्य रूपमा बढेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ।

प्रहरीका अनुसार अघिल्लो आर्थिक वर्षमा ४ हजार ८८४ वटा विरोध तथा प्रदर्शनका घटना भएकोमा गत आर्थिक वर्षमा यो संख्या बढेर ७ हजार ५७८ पुगेको छ। गत आर्थिक वर्षमा २ हजार ७०७ वटा विरोध र्‍याली, २ हजार १९ वटा धर्ना, ३६८ वटा तालाबन्दी, १७३ वटा बाटो अवरोध र ४५८ वटा अनशन भएका छन्। सबैभन्दा उल्लेख्य तथ्य सवारी आगजनीको हो । एक वर्षमा १ हजार ६९६ वटा सवारी आगजनीका घटना भएको प्रहरीले जनाएको छ।

अघिल्लो आर्थिक वर्षमा यस्तो घटना ७६ वटा मात्रै थियो । त्यस्तै सवारी तोडफोडका घटना ३३ बाट बढेर १४८ पुगेका छन् । २०८२ भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको प्रहरीको विवरणमा उल्लेख छ । मृत्यु हुनेमा ३ जना प्रहरी कर्मचारी र ७३ जना सर्वसाधारण, प्रदर्शनकारी तथा अन्य व्यक्ति छन् । उक्त घटनामा ३ हजार ३९६ जना घाइते भएका थिए । आन्दोलनका क्रममा नेपाल प्रहरीका ४५९ कार्यालयमा क्षति पुगेको थियो । तीमध्ये १४३ कार्यालय पूर्ण र ३१६ कार्यालय आंशिक रूपमा क्षतिग्रस्त भएका थिए ।

प्रकाशित: २३ श्रावण २०८३ ११:१४ शनिबार