समाज

चुरे संरक्षणका लागि माइतीघरमा धर्ना : अवैध उत्खनन र अतिक्रमण रोक्न माग

तस्बिर : विजय राई/नागरिक

चुरे तथा वनजंगल संरक्षण अभियान नेपालले विभिन्न माग राख्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ। 

नयाँ राजनीतिक परिवेशसँगै जनतामा आशा जागेको भन्दै यो अभियानले सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरेको हो। अभियानले ५ बुँदे माग सार्वजनिक गर्दै सरकारलाई कडा कदम चाल्न आग्रह गरेको छ।

प्रदर्शनकारीले चुरे वन क्षेत्रभित्रका पुराना र नयाँ अतिक्रमण हटाउनुपर्ने तथा ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खनन रोकेर अवैध क्रसर उद्योगहरू बन्द गर्नुपर्ने माग गरेका छन्। 

उनीहरूले वातावरणीय क्षतिपूर्ति असुल गर्ने व्यवस्था मिलाउन र चुरेभावर क्षेत्रलाई संरक्षण क्षेत्र घोषणा गरी कडा प्रावधान लागू गर्न सरकारलाई दबाब दिएका छन्।

यस्तै, ढुंगा, गिट्टी र बालुवा बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड संशोधन गर्नुपर्ने माग पनि अभियानले अघि सारेको छ। वन क्षेत्रबाट हुने यस्ता प्राकृतिक स्रोतको संकलन र बिक्री वितरणलाई व्यवस्थित बनाउनुपर्नेमा उनीहरूले जोड दिएका छन्। अभियानका प्रतिनिधिले भने, ‘नेपाल सरकारले चुरे संरक्षणका लागि कडा कदम चाल्नुपर्छ र अवैध उत्खनन तत्काल बन्द गरिनुपर्छ।’

तस्बिर : विजय राई/नागरिक

प्रकाशित: २६ चैत्र २०८२ १४:०४ बिहीबार