समाज

युट्युबर पोखरेल पक्राउको विरोध: जेनजी अभियन्ताद्वारा अभिव्यक्ति स्वतन्त्रताको माग

प्रधानमन्त्री बालेन्द्र शाहलाई गालीगलौज गरेको आरोपमा युट्युबर रोशन पोखरेल पक्राउ परेपछि जेनजी अभियन्ताहरूले विरोध जनाएका छन्। 

जेनजी मुभमेन्ट नेपाल लगायतले सामाजिक सञ्जालमार्फत यो कदमको कडा आलोचना गरेका हुन्।

मुभमेन्टका प्रवक्ता विजय शाहले विज्ञप्ति जारी गर्दै अभिव्यक्तिकै आधारमा पक्राउ गर्नु आपत्तिजनक भएको बताएका छन्। उनले भने, ‘अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर, अधिनायकवादतर्फ नजाऊ।’

प्रधानमन्त्री स्वयं कलाकार भएकाले यसको महत्त्व बुझ्नुपर्ने भन्दै शाहले थपेका छन्, ‘विगतमा स्वयं प्रधानमन्त्रीबाटै सिंहदरबार जलाउनेजस्ता अभिव्यक्ति आएका थिए, त्यसो हो भने बालेन शाहलाई किन पक्राउ नगर्ने? समान मापदण्ड अपनाइने हो भने सबैमाथि निष्पक्ष छानबिन हुनुपर्छ।’ उनले पोखरेलको तत्काल रिहाइको माग समेत गरेका छन्।

त्यस्तै, अभियन्ता तनुजा पाण्डेले पनि सामाजिक सञ्जालमार्फत विरोध जनाएकी छन्। उनले विगतमा गायक भिटेन पक्राउ पर्दाको प्रसंग जोड्दै अपमानजनक बोलेकै आधारमा पक्राउ गर्नु गलत भएको तर्क गरिन्। उनले ऐक्यबद्धता जनाउँदै प्रधानमन्त्री शाहले गाएका गीतका हरफ स्मरण गराएकी छिन्। 

लेखेकी छन्, ‘मलाई बोल्न दे, सरकार, अपराध हैन, मन खोल्न दे, दरबारको म सराप हैन, मन खराब छैन, सही बोल्न डराउँदैन, कानुन पो लाग्छ कि? आवाज उठाउँदैमा’ 

पाँचथर घर भएका पोखरेललाई प्रधानमन्त्री लगायतका नेताहरूलाई अपमानजनक शब्द प्रयोग गरी भिडियो बनाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो। आइतबार पाँचथर प्रहरीले उनलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी साइबर अपराध सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २९ चैत्र २०८२ १३:५४ आइतबार