सर्लाहीको जनजीवन सामान्य बन्दै गएपछि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा शनिबार बिहानदेखि हटाइएको छ।
जेन-जीको प्रदर्शनका क्रममा सर्लाही प्रशासनले जिल्लाभरि गत भदौ २६ गतेदेखि अर्को आदेश नहुन्जेलसम्मको लागि लगाइएको निषेधाज्ञा परिस्थिति सामान्य बन्दै गएपछि हटाएको छ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले शनिबार बिहान जारी गरेको पत्रमा पछिल्लो समय जिल्लाको जनजीवन सामान्य बन्दै गएपछि सुरक्षा समितिको निर्णयले जिल्लाभरि निषेधाज्ञा हटाएर केही संवेदनशील स्थानमा लगाएको कर्फ्यु हटाएर उक्त स्थानमा निषेधाज्ञा लगाइएको उल्लेख छ।
प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठका अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३)(क) बमोजिम सदरमुकाम मलंगवामा कर्फ्यु हटाएर निषेधाज्ञा लगाएको बताए। पूर्वमा झिम नदी, पश्चिममा बागमती नहर, उत्तरमा सशस्त्र प्रहरी बल १० नम्बर गण अगर्वा, कविलासी र दक्षिणमा नेपाल-भारत सीमा क्षेत्रको कर्फ्यु हटाएर निषेधाज्ञा लगाइएको उक्त पत्रमा उल्लेख गरिएको छ।
यसैगरी रौतहटको जनजीवन सामान्य बन्दै गएको छ। ग्रामीण भेगका बजार, पसल, यातायात पूर्ण रूपमा सुचारु भएको देखिएको छ।
जेन-जी आन्दोलनको कारण सुरक्षा खतरा बढेपछि स्थानीय प्रशासनले दिनभर निषेधाज्ञा र राति कर्फ्यु लगाएका छन्।
प्रकाशित: २८ भाद्र २०८२ ११:३० शनिबार