कतै पिच, कतै ढलान झट्ट हेर्दा राम्रो सडक देखिन्छ। तर ठाउँठाउँमा पहिरो, धुलो, हिलो र खाल्डाखुल्डीले यात्रुलाई सास्ती दिन्छ।
विस्तार भइरहेको पृथ्वी राजमार्गमा पानी पर्दा कहाँनेर पहिरोले बाटो थुनिन्छ, पत्तो हुँदैन। डोजरले खारिएका भित्ताबाट झर्ने ढुंगामाटोबाट जोगिन मुश्किल पर्छ।
काठमाडौंदेखि धादिङसम्मको माइक्रोबस चालक विकास श्रेष्ठ भन्छन्, ‘अहिले सडकको खाल्डोमा भन्दा पहिरो झर्ने ठाउँमा आँखा पु-याउनुपर्छ।’ बुधबारदेखि यो क्षेत्रमा लगातार पानी परिरहेको छ। ठाउँठाउँमा साना पहिरोले सडक थुनिन्छ र खुल्छ। घण्टौं कुर्नुपर्ने गरी सडक थुनिएको छैन। त्रिभुवन राजपथको नागढुंगा–नौबिसे र पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड बर्खामा जोखिमपूर्ण छ।
सडक फराकिलो बनाउन काटिएका भित्ताबाट खसेको सानो पहिरोले सडक हिलाम्मे र धुलाम्मे हुन्छ। आधा काम भएर बाँकी रहेका खाल्डाखुल्डीले साना-ठूला सवारी चलाउन गाह्रो छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमाल भन्छन्, ‘पृथ्वी राजमार्ग अहिले जोखिमपूर्ण छ। तर, हिँड्नै नसक्ने अवस्था छैन।’
पहिरो र गेग्रानले सडक छियाछिया छ। चालकले होसियारी र ट्राफिक नियम पालना गरे मात्र दुर्घटनाबाट जोगिन सकिन्छ।
मोटरसाइकल र स्कुटरलाई यो सडक पार गर्न निकै कठिन छ। घाम लाग्दा धेरैजसो ठाउँ धुलाम्मे हुन्छ। पानी पर्दा त्यही धुलो लेदोमा परिणत भएर चिप्लो हुन्छ।
‘कहीँ असहज अवस्था नहोस्, विपद् नआओस्, आए पनि धनजनको क्षति नहोस् भनेर हामी चौबिसै घण्टा खटिएका छौं,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठ भन्छन्।
नागढुंगा-नौबिसे क्षेत्रका पहिरो पूर्ण रूपले रोकिएका छैनन्। कृष्णभीरदेखि मुग्लिनसम्मको सडकमा जुनसुकै ठाउँमा जतिबेला पनि पहिरो झर्न सक्छ। नागढुंगादेखि मुग्लिनसम्म ९६ किलोमिटर राजमार्गमा कहीँ न कहीँ सडक एकतर्फी हुन्छ। निर्माणाधीन पुल र साँघुरा स्थानमा प्रहरी तैनाथ गरेर चालकलाई सजग गराइएको श्रेष्ठले बताए।
नागढुंगाको चेकपोस्टमा दैनिक कति सवारी काठमाडौं भित्रिन्छन् र बाहिरिन्छन्, यकिन तथ्यांक छैन। सामान्य अवस्थामा दैनिक १३ हजार र चाडपर्वमा २० हजारसम्म सवारी आउजाउ हुने प्रहरीको अनुमान छ। रासस
प्रकाशित: १२ भाद्र २०८२ १७:१६ बिहीबार