धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग दुईतर्फी रूपमा अवरुद्ध भएको छ।
सोमबार बिहान करिब ५ः४५ बजे सडक माथिबाट सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो। पहिरोका कारण राजमार्गमा दुवैतर्फ सवारी आवागमन रोकिएको हो।
अवरुद्ध सडक खुलाउन इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक निरीक्षक रामशरण बस्नेतको कमाण्डमा ट्राफिक प्रहरीसहित ६ जनाको टोली घटनास्थलमा खटिएको छ। टोलीले पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने कार्य गरिरहेको प्रहरीले जनाएको छ।
सडक अवरुद्ध भएपछि पृथ्वीराजमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधन तथा यात्रु प्रभावित भएका छन्। प्रहरीले सडक खुलाउने कार्य जारी रहेकाले यात्रुलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
प्रकाशित: १ भाद्र २०८३ ०७:४३ सोमबार