चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वीराजमार्गमा खसेको पहिरो हटाएपछि सवारी आवागमन पूर्ण रूपमा सुचारु भएको छ।
शनिबार राति करिब १०:२५ बजे सडक माथिबाट रुखसहितको सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्गको नारायणगढ–काठमाडौं सडकखण्ड दुईतर्फी अवरुद्ध भएको थियो।
पहिरोका कारण सडक अवरुद्ध भएपछि पहिरो पन्छाउने कार्य गरिएको थियो। पहिरो हटाएपछि आज बिहान ६:४५ बजेदेखि नारायणगढबाट काठमाडौंतर्फ जाने तथा काठमाडौंबाट नारायणगढतर्फ आउने सवारीसाधनको आवागमन पूर्ण रूपमा सुचारु भएको प्रहरीले जनाएको छ।
सडक सञ्चालनमा आएपछि उक्त सडकखण्डमा रोकिएका तथा आवतजावत गर्ने सवारीसाधनहरू नियमित रूपमा सञ्चालनमा आएका छन्।
प्रकाशित: ३१ श्रावण २०८३ ०८:०५ आइतबार