रसुवाको भोटेकोशी बाढीले तटीय क्षेत्रमा विनाश निम्त्याएपछि प्रधानमन्त्री बालेन्द्र शाह बिहीबार बिहान सडकमार्ग हुँदै प्रभावित क्षेत्र नुवाकोटको ‘ग्राउन्ड जिरो’ विदुर पुगेका छन्।
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसहित बिहान ९:३० बजे काठमाडौंबाट सडकमार्ग हुँदै प्रस्थान गरेका प्रधानमन्त्री शाहले बाढी प्रभावित बस्तीहरूको स्थलगत निरीक्षण गरी क्षतिको प्रत्यक्ष अवस्था बुझेका हुन्।
निरीक्षणका क्रममा प्रधानमन्त्री शाहले जिल्ला प्रशासन, सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिहरूसँग प्रभावित क्षेत्रमै समीक्षा बैठक गरेका थिए।
बैठकमा उनले बाढीबाट विस्थापित भएका परिवारलाई तत्काल खाना, पानी र सुरक्षित बासस्थानको प्रबन्ध मिलाउन, अवरुद्ध सडक तथा क्षतिग्रस्त पूर्वाधारहरू युद्धस्तरमा सञ्चालनमा ल्याउन र पीडितहरूको दीर्घकालीन पुनःस्थापना प्रक्रिया तुरुन्त अघि बढाउन निर्देशन दिए।
बुधबार भोटेकोशीमा आएको भीषण बाढीलगत्तै मन्त्रिपरिषद् र विपद् परिषद्को आकस्मिक बैठक डाकेर उद्धारको कमाण्ड सम्हालेका प्रधानमन्त्री शाह परिस्थितिको गाम्भीर्यता बुझ्न आफैं फिल्डमा पुगेका हुन्।
प्रभावित क्षेत्रको वस्तुस्थिति अवलोकन, घाइतेहरूको अवस्था निरीक्षण र स्थानीय तहलाई आवश्यक निर्देशन दिएपछि प्रधानमन्त्री नेतृत्वको टोली बिहीबार नै काठमाडौं फर्किएको छ।
प्रकाशित: ११ भाद्र २०८३ १५:१६ बिहीबार