समाज

यो वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना बढे

यो वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि भएको छ । नेपाल पत्रकार महासङ्घका अनुसार मे ४ सन् २०२५ देखि ३० अप्रिल २०२६ सम्म गरिएको अध्ययन विवरणमा १३१ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका छन् । गत वर्ष सोही अवधिमा ७३ वटा यस्ता घटना भएका थिए ।  

महासङ्घ अध्यक्ष निर्मला शर्माले तुलनात्मक विश्लेषण गर्दा यस वर्ष प्रेस स्वतन्त्रता हननका घटना बढिरहेको पाइएको बताइन ।

महासङ्घको सञ्चार अनुगमन एकाइले गरेको अध्ययनअनुसार १३१ घटनामध्ये पत्रकारमाथि दुव्र्यवहार तथा धम्कीका ५१, पत्रकार तथा सञ्चार सामग्रीमाथि आक्रमणका ३०, पेसागत असुरक्षाका १८ र कब्जा तथा अवरोधका २६ वटा घटना रहेका छन् ।

यसैगरी नीतिगत बन्देजका तीन, पत्रकार पक्राउका दुई र पत्रकारको शङ्कास्पद मृत्युका एक घटना अभिलेख भएका छन् । गत भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा २६ वटा प्रेस स्वतन्त्रता हननका घटना हुँदा १०० भन्दा धेरै पत्रकार तथा सञ्चारगृह प्रत्यक्ष प्रभावित भएको महासङ्घको अध्ययनले देखाएको छ । २३ गतेको आन्दोलन र २४ गतेको हिंसात्मक घटनामा सञ्चारगृहमा आगजनी, लुटपाट र तोडफोड भएको थियो ।

घटनामा संस्थागततर्फ करिब ६० करोड र पत्रकार तथा सञ्चार उद्यमीको निजी सम्पत्तितर्फ करिब १८ करोड बराबरको क्षति भएको छ । आन्दोलनका क्रममा पाँच जना पत्रकार गोली लागेर घाइते भएका थिए ।

अध्यक्ष शर्माले भनिन्, ‘नीतिगत रूपमा गएको वर्ष पनि प्रेस स्वतन्त्रता सङ्कुचन गर्ने प्रयास भएको थियो, महासङ्घको विरोधका बाबजुद सङ्घीय संसद्मा मिडिया काउन्सिल विधेयक, सामाजिक सञ्जाल सञ्चालन तथा नियमन विधेयक, सूचना प्रविधि ऐनलगायत विभिन्न सञ्चारसम्बन्धी विधेयकहरू समितिहरूमा छलफलमा थिए ।’

पत्रकार विरुद्ध भएका अपराधमा दण्डहीनता, सञ्चारमाध्यमको आर्थिक अवस्थामा गिरावट, पत्रकारको पेसागत र भौतिक सुरक्षामा जोखिम जस्ता कारणले प्रेस स्वतन्त्रता झनै चुनौतीपूर्ण बन्दै गएको महासङ्घको ठहर छ । 

प्रकाशित: १९ वैशाख २०८३ २१:३७ शनिबार