सेतो मच्छेन्द्रनाथको रथ तानेर असन ल्याएपछि बिहीबार राति राष्ट्रपति रामचन्द्र पौडेलले रथको पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गरेका छन्।
असनमा राति करिब १०:०० बजे उनले सेतो मच्छेन्द्रनाथको दर्शन एवं पूजा आराधना गरेका हुन्। सेतो मच्छेन्द्रनाथको रथ तानेर असन ल्याएको राति राष्ट्राध्यक्षले असनमै पुगेर पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ।
तीनधारा पाठशालाअघि ३२ हात लामो रथ बनाएर चैते दसैँका दिनदेखि तान्ने गरिएको छ। यो रथलाई नागराजको प्रतीक मानिन्छ। प्रत्येक वर्ष यो जात्रा गरेपछि वर्षा र सह हुने धार्मिक विश्वास छ। रथ दोस्रो दिन असनबाट वसन्तपुरस्थित कालभैरवअघि लगिन्छ। तेस्रो दिन वसन्तपुरबाट लगन लगेर जात्रा गर्ने परम्परा छ। लगनमा सेतो मच्छेन्द्रनाथको आमाको मन्दिरमा रथ तीन पटक घुमाउने गरिन्छ। राजधानीमा सेतो मच्छेन्द्रनाथको रथयात्रा सकेपछि ललितपुरमा रातो मच्छेन्द्रनाथको रथयात्राको प्रक्रिया सुरु हुने परम्परा रहेको छ।
प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट सुरु हुने वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु भएको छ। रथयात्रामा हजारौँको सहभागिता जुटेको छ। रथयात्राका लागि बिहीबार बेलुकी ५:०० बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिएको थियो। बेलुकी त्यही रथमा राखी यात्रा सुरु गरिएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ। पहिलो दिन बिहीबार रथ असन पुर्याइएको जनाइएको थियो।
सोही क्षेत्रमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ। असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रवहालमा ल्याएर अन्त्य गरिन्छ। रथ निर्माणका लागि काठलगायत व्यवस्था गुठी संस्थानले गर्ने परम्परा छ। चैत्र शुक्ल अष्टमीका दिन बिहीबार कुमारीलाई पनि तीनधारा पाठशाला परिसरमा लगेर रथयात्रा सुरु गरिएको सेतो मच्छेन्द्रनाथका पुजारी एवं काठमाडौं महानगरपालिका-२५ का पूर्वअध्यक्षसमेत रहिसकेका नीलकाजी शाक्यले जानकारी दिए।
प्रकाशित: १३ चैत्र २०८२ ०६:४६ शुक्रबार