समाज

राजमार्ग चौडा गर्न जंगल मास्ने तयारी, ६ हजार रुख काटिने

पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ।

पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्केवर–पथलैया सडक पूर्वीखण्ड आयोजनाका प्रमुख राजेशकुमार दासका अनुसार विभिन्न समस्या र चुनौतीकाबीच लामो समयपछि डिभिजन वन कार्यालय, वन तथा भूसंरक्षण विभाग र वन तथा वातावरण मन्त्रालयहुँदै सम्पूर्ण प्रक्रिया पूरा भएपछि रुख काटिने आदेश प्राप्त भएको हो।

प्रमुख दासले यस आयोजनाअन्तर्गत पूर्वी खण्डले निर्माण कार्य गर्ने महोत्तरी, धनुषा र सर्लाही जिल्लामा जम्मा ११ हजार ५७७ रुख कटान गर्ने आदेश प्राप्त भएको बताए। सोअन्तर्गत सर्लाहीमा तीन हजार ६७४ र धनुषामा एक हजार ८७६ रुख कटान गर्ने आदेश भएको प्रमुख दासले बताए। उनका अनुसार सडक विस्तारका क्रममा सहरी तथा बजार क्षेत्रमा ६ लेनसहित ३१ मिटर चौडाइ र अन्य क्षेत्रमा चार लेनसहित १८ मिटर चौडाइ कायम गरिने भएको छ।

सडक विस्तारका लागि सबैभन्दा बढी सालका रुख कटान गरिने भएका छन्। सडक विस्तारमा बिजुलीका खम्बा सार्ने र खानेपानीको पाइप बिछ्याउने कामसमेत चुनौतीका रूपमा रहेको आयोजना प्रमुख दासले बताए। धनुषा र सर्लाहीमा रुख कटानको काम सुरु भइसकेको र महोत्तरीमा पनि चाँडै उक्त कार्य आरम्भ हुने उनले बताए। रासस

प्रकाशित: २४ मंसिर २०८२ ०६:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App