समाज

‘नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल’ को तयारी

स्थानीय व्यवसायीको आर्थिक गतिविधि बढ्ने विश्वास

फेस्टिभलको तयारीबारे जानकारी दिन मंगलबार नेपालगन्जमा आयोजना गरिएको पत्रकार सम्मेलन। तस्बिरः अर्जुन/नागरिक

बाँकेमा ‘नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल’ को तयारी गरिएको छ। होटल व्यवसायी संघ बाँके नेपालगन्ज र होटल संघ बाँके(हान)को संयुक्त आयोजनामा फेस्टिभल गर्न लागिएको हो।  

आगामी २०८३ साल वैशाख ११ देखि १३ गतेसम्म फेस्टिभल सञ्चालन गर्ने तयारी गरिएको आयोजक पक्षले मंगलबार नेपालगन्जमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ। फेस्टिभल नेपालगन्जको ‘सुशिल कोइराला स्मृति गेट’ देखि पश्चिम वाटरपार्कसम्मको क्षेत्रमा सञ्चालन हुनेछ। तीन दिनसम्म सञ्चालन हुने फेस्टिभलमा पर्यटन, धार्मिक स्थलको प्रचार–प्रसार तथा प्रवर्द्धन, स्थानीय परिकारको पहिचान, होटल व्यवसायको विकास, छिमेकी राष्ट्र भारतको बोर्डरबाट बढी भन्दा बढी पर्यटकलाई भित्र्याउने, तारे होटलका खानालाई एकै ठाउँबाट प्रवर्द्धन गरी यहाँको व्यापारलाई चलायमान गराउने विश्वास लिइएको छ।  

पत्रकार सम्मेलनमा होटल संघ नेपाल(हान) बाँकेका अध्यक्ष दिवाकर खनालले स्थानीय परिकार, सँस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फेस्टिभल गर्न लागिएको बताए। फेस्टिभलले सामाजिक सेवा तथा आम उपभोक्ताहरूको हितलाई ध्यानमा राखी गुणस्तरिय सेवा र सुविधा प्रदान गर्ने, लोक सँस्कृति, कलाको विकास र उत्थानमा क्रियाशील पर्यटन व्यवसायको अभिवृद्धि गर्ने उद्देश्य राखिएको पनि उनले औल्याए।  

होटल व्यवसायी संघ बाँके नेपालगन्जका अध्यक्ष भिमलाल कँडेलले फेस्टिभलमा स्थानीय स्वादिष्ट स्ट्रीट फुड, परम्परागत तथा आधुनिक खानाका परिकार र पेय पदार्थका साथै स्थानीय कला, सँस्कृति र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिने जानकारी दिए। ‘कार्यक्रमले स्थानीय व्यवसायीहरूलाई प्रोत्साहन गर्ने तथा आन्तरिक तथा बाह्य पर्यटकलाई थप टेवा पुर्याउने हाम्रो विश्वास छ,’ उनले भने, ‘फेस्टिभलमा सहभागी आगन्तुकहरूले विभिन्न प्रकारका खानाका स्टलहरू, लाईभ म्युजिक साँस्कृतिक प्रस्तुती र अफरहरूको अनुभव लिन सक्नेछन्, स्थानीय उत्पादन र व्यवसायीलाई प्रोत्साहन गर्नुका साथै नेपालगन्जलाई फुड डेस्टिनेशनका रुपमा चिनाउने मुख्य उद्देश्य रहेको छ।’

फेस्टिभलमार्फत स्थानीय व्यवसायीको आर्थिक गतिविधि बढ्ने, उपभोक्ताहरूले गुणस्तरीय सेवा प्राप्त गर्ने तथा नेपालगन्जलाई एक प्रमुख पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास छ,’ अध्यक्ष कँडेलले थपे। कार्यक्रमलाई सभ्य, भव्य तथा व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि २ सय ५१ सदस्यीय मुल समिति तथा विभिन्न १७ उपसमिति गठन गरिएको आयोजकले जनाएको छ।

प्रकाशित: १७ चैत्र २०८२ १८:०३ मंगलबार