समाज

सम्पत्ति शुद्धीकरण मुद्दाको तयारी: विष्णु पौडेलसँग करिब २१ करोड बिगो दाबी, ८ कम्पनीसहित १६ जना प्रतिवादी

सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानपछि नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलसहित १६ प्रतिवादीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी पूरक अभियोग दर्ता गर्ने तयारी गरिएको छ।

विशेष सरकारी वकिल कार्यालय काठमाडौंले अनुसन्धान प्रतिवेदनका आधारमा विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको हो। प्रतिवादीमध्ये ८ जना व्यक्ति रहेका छन् भने सम्पत्ति जफतको प्रयोजनका लागि ८ वटा कम्पनीलाई पनि प्रतिवादी बनाइएको जनाइएको छ।

अभियोगपत्रमा प्रत्येक प्रतिवादीविरुद्ध छुट्टाछुट्टै बिगो दाबी गरिएको छ। विष्णु पौडेलविरुद्ध करिब २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गर्ने तयारी भएको स्रोतले जनाएको छ। त्यस्तै, शुभी अग्रवालविरुद्ध करिब १३ करोड ५० लाख रुपैयाँ बिगो कायम गरिएको छ।

पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। त्यसपछि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान पूरा गरी केही दिनअघि आफ्नो प्रतिवेदन विशेष सरकारी वकिल कार्यालयमा बुझाएको थियो।

प्रतिवेदनको अध्ययनपछि सरकारी वकिल कार्यालयले विशेष अदालतमा पूरक अभियोग दर्ता गर्ने अन्तिम तयारी गरेको जनाएको छ।

प्रकाशित: ३२ असार २०८३ १७:४५ बिहीबार