समाज

अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तीव्र : पाँच सयको सहभागिता रहने

उच्च शिक्षामा नवीनता, अनुसन्धान र स्थायित्वका लागि इटहरीमा पुस ५ र ६ गते हुने अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलनको तयारी तीव्र गतिमा भइरहेको छ।  जनता बहुमुखी क्याम्पसलाई पूर्वकै शैक्षिक हबका रूपमा विकास गरेर लैजाने उद्देश्यका साथ हुन लागेको सम्मेलनका लागि मंसिर १४ सम्ममा अनलाइन माध्यमबाट ६० वटा अवधारणापत्र दर्ता भइसकेका छन्। 

देश तथा विदेशका विश्वविद्यालय, क्याम्पस, अनुसन्धान प्रतिष्ठान, उच्चशिक्षाका सरोकारवाला संस्था, प्राध्यापक, योजनविद् तथा बौद्धिक व्यक्तित्वबाट अवधारणा पत्रको सारांश माग गरिएको थियो, जसअनुसार निर्धारित समयसम्ममा ती  अवधारणापत्रको सारांश प्राप्त भएको सहायक क्याम्पस प्रमुख इन्द्रप्रसाद प्याकुरेलले बताए। 

उनका अनुसार क्याम्पसले बृहत्तर क्षेत्र ओगट्ने गरी खास–खास विषयमा अन्तर्राष्ट्रिय स्तरको भेला, सम्मेलन र कार्यशाला गरी ज्ञानको संकलन, प्रतिपादन र विस्तार गर्नु अति आवश्यक भएअनुसार कार्यक्रम गर्न लागिएको हो। सम्मेलनमा विभिन्न विश्वविद्यालय, क्याम्पस र उच्च शिक्षाका सरोकारवाला संस्थाका प्राध्यापक, शिक्षक र शैक्षिक व्यक्तित्वसमेत गरी न्यूनतम पाँच सय सहभागी हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा मुख्य नोट स्पिकरका रूपमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राध्यापक डा. महानन्द चालिसे, त्रिभुवन विश्वविद्यालय सिइएनएएसका कार्यकारी निर्देशक डा. मृगेन्द्र कार्की र कोलम्बिया विश्वविद्यालय टिचर्स कलेज न्युयोर्क अमेरिकाका  डा. प्रेम फ्याक सहभागी हुनेछन्।

यस्तै मुख्य नोट स्पिकरकै रूपमा बाबा मस्तनाथ विश्वविद्यालय भारतका पूर्वउपकुलपति प्रोफेसर एचएल वर्मा र रिइलियो क्षेत्रीय अंग्रेजी भाषा कार्यालय अमेरिकी दूतावासका रोजर एफ कोहेन सहभागी हुने तय भएको छ।

सोमबार आयोजक समितिले पत्रकार सम्मेलन गरी कार्यक्रममा माहिडोल विश्वविद्यालय बैंकक, थाइल्यान्डका डेभिड डी पेरोडिन, सहायक प्राध्यापक तथा विद्यालय प्रमुख प्राविधिक अध्ययन काठमाडौंका भोजराज घिमिरे, डिग्री क्याम्पस विराटनगरकी वन्दना जैन, महेन्द्र रत्न क्याम्पसका बलराम अधिकारी, उलन्स स्कुलका प्रधानाध्यापक मेडिन लामिछाने र नीति अनुसन्धान संस्थान नारायणहिटीका निरञ्जन देवकोटा पेलेनरी स्पिकरका रूपमा प्रस्तुतीकरण गर्नेछन्।

सम्मेलनमा मुख्य विषय उच्च शिक्षामा नवीनता, अनुसन्धान र स्थायित्व रहेको त्यसका उपविषयअन्तर्गत मानविकी तथा सामाजिक विज्ञान, शिक्षा, व्यवस्थापन र  अंग्रेजी भाषा रहेको कन्भेयर प्याकुरेलले बताए। 

सम्मेलनका लागि इटहरी उपमहानगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने मेयर हेमकर्ण पौडेलले पत्रकार सम्मेलनमा बताए। उनले सम्मेलनले इटहरीको शैक्षिक इतिहासको इज्जत, प्रतिष्ठा र गरिमा बढाउने बताए। 

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विकास केसीका अनुसार सम्मेलन सम्पन्न गर्न कम्तीमा ३५ लाख रुपैयाँ खर्च हुनेछ। यसका लागि यस क्षेत्रका स्थानीय सरकारसँग प्रस्ताव पेस गरिएको  छ। क्याम्पसले भने आफ्नो आन्तरिक कोषबाट १८ लाख हाराहारी खर्चने भएको छ। 

विश्वविद्यालय अनुदान आयोग नेपालबाट गुणस्तर सुनिश्चितता प्रत्यायानको प्रमाणपत्र प्राप्त गर्न सफल जनता क्याम्पसमा स्नातक तहमा बिएड, बिबिएस, बिए, बिआइसिटिई तथा स्नातकोत्तरतर्फ एमएडसँगै एमबिएसका शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ। कक्षा ११ र १२ का शैक्षिक कार्यक्रम पनि सञ्चालन गरेको छ। यहाँ कोसी र मधेस प्रदेशका विद्यार्थी अध्ययनका लागि आउने गर्छन्। 

प्रकाशित: १६ मंसिर २०८२ ०९:२८ मंगलबार