समाज

पर्सा-बाराका चार पालिकामा नगर बस सञ्चालनको तयारी

वीरगन्ज महानगरपालिकासहित पर्सा र बाराका चार पालिकालाई जोडेर नगर बस सञ्चालन गर्ने तयारी गरिएको छ। महानगरपालिकाले मङ्सिरभित्रै सेवा सञ्चालन गर्ने लक्ष्यसहित आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ।

सहायक सडक तथा ग्रामीण बस्तीलाई मुख्य सडक सञ्जालसँग जोड्दै अन्तरपालिका आवागमन सहज र सुलभ बनाउने उद्देश्यले नगर बस सञ्चालन गर्न लागिएको वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जानकारी दिए।

नगर बस सेवालाई दिगो र व्यवस्थित बनाउन चारवटै पालिकाको सहभागितामा रु एक करोडको एकीकृत सञ्चालन कोष स्थापना गर्ने निर्णय भएको उनले बताए। कोषमा वीरगन्ज महानगरपालिकाले रु ४० लाख, जितपुरसिमरा उपमहानगरपालिकाले रु ३० लाख, कलैया उपमहानगरपालिकाले रु २५ लाख र परवानीपुर गाउँपालिकाले रु पाँच लाख योगदान गर्नेछन्।

नगर बस सञ्चालनको सम्भाव्यता अध्ययन तथा आवश्यक तयारीका लागि चारवटै पालिकाका प्रतिनिधि सम्मिलित कार्यदलले तयार पारेको प्रतिवेदन आवश्यक संशोधनसहित पारित भइसकेको महानगरपालिकाले जनाएको छ।

नगर बस सञ्चालनसम्बन्धी कार्यविधि तयार गर्ने जिम्मेवारी पनि कार्यदललाई दिइएको छ। कार्यदलले मङ्सिर ७ गतेभित्र कार्यविधि तयार गरी पेस गर्नुपर्नेछ।

महानगरपालिकाका राजस्व प्रशासन महाशाखा प्रमुख डा सुनिल आचार्यको संयोजकत्वमा गठित कार्यदलमा जितपुरसिमरा उपमहानगरपालिकाका लेखापाल हरिशङ्करप्रसाद कुर्मी, कलैया उपमहानगरपालिकाका अजय उप्रेती र परवानीपुर गाउँपालिकाका कृष्णकुमार यादव सदस्य रहेकाम छन्। रासस

प्रकाशित: ६ मंसिर २०८३ ०७:२५ आइतबार