नेपालीको महान् चाड बडादसैँको सन्दर्भ पारेर पोखराको लेकसाईडमा भोलि ‘दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव’ आयोजना हुँदैछ।
महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को आयोजना, गृहलक्ष्मी ग्यासको प्रायोजन तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्द्धनमा पोखरा–६ लेकसाईडस्थित वाराही खेल मैदानमा आइतबार महोत्सव हुन लागेको हो।
संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भोलि आयोजित महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक ओटेफले शनिबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो।
बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको दिन पारेर आयोजना हुने महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नेछन्। महोत्सवअघि लेकसाईडको हल्लनचोकबाट झाँकीसहितको र्याली आयोजना गरिने भएको छ।
जहाँ आयोजकसँगै पर्यटन सम्बद्ध सङ्घसंस्थाहरू, स्थानीय संघसंस्था, क्लब, आमा समूह, जलारी समुदाय, पर्यटकहरूदेखि खेलाडीसम्म सहभागी हुने जनाइएको छ।
हल्लनचोकदेखि सुरु भएको झाँकीसहितको र्याली सेन्टरप्वाईन्ट, वाराहीचोक हुँदै कार्यक्रम स्थल वाराही खेल मैदानमा पुगेर उद्घाटन कार्यक्रममा परिणत हुने ओटेफकी अध्यक्ष ममता न्यौपानेले जानकारी दिइन्।
‘टीका, जमरा र चङ्गा चेटः पोखरामा पर्यटकसँग दसैँ भेट’ भन्ने मूल नाराका साथ हुने महोत्सवमा सहभागी पर्यटकलाई दसैँको टिका र जमरा लगाइदिने अध्यक्ष न्यौपानेले बताइन्।
‘कार्यक्रममा पर्यटकसहित सम्पूर्ण सहभागीलाई टिका र जमरा लगाउँछौ र न्यानो आतिथ्यसहित खानपान पनि गराउँछौँ’, उनले भनिन्।
महोत्सवमा पर्यटकलाई बडादसैँको महत्वबारे जानकारी गराईने ओटेफकी संस्थापक अध्यक्ष जमुना पहारी पराजुलीले बताईन्। उनले भनिन्,‘महोत्सवमा चङरेली पिङ, रोटे पिङ, घुमाउने पिङ, विभिन्न जातजाति तथा समुदायका मौलिक सांस्कृतिक प्रस्तुति पनि महोत्सवमा आकर्षणका रुपमा रहनेछन्।’
महोत्सवमा सांस्कृतिक विविधता, स्थानीय जीवनशैली, मौलिक खाना, कला, परम्परागत रोटेपिङसहित विविध कार्यक्रम गरिने ओटेफकी निवर्तमान अध्यक्ष तथा कार्यक्रम संयोजक उमा रेग्मी भण्डारीले जानकारी दिइन्।
‘हाम्रो मौलिक पर्व बडादशैंलाई पर्यटनसँग जोड्दै विदेशी तथा स्वदेशी पर्यटकलाई नेपाली मौलिक संस्कृतिको प्रत्यक्ष अनुभव गराउनु नै महोत्वको उद्धेश्य हो’,उनले भनिन्।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले संस्कृतिलाई पर्यटनसँग जोड्नु महोत्सवको सुखद पक्ष भएको बताए। उनले भने,‘यो महोत्सवले पर्यटकहरुलाई हाम्रा धर्म, संस्कृति, परम्परा र दसैँको महत्वबारे उजागर गर्छ र पर्यटकलाई आकर्षित गर्न मद्धत गर्छ।’
महोत्सवलाई गृहलक्ष्मी ग्यासले प्रायोजन गरेको छ। साथै गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, पोखरा महानगरपालिका वडा नम्बर–६ सँगै नेपाल पर्यटन वोर्डलगायतले सहयोग गरेको महासचिव भावना रानाभाटले जानकारी दिइन्।
प्रकाशित: ७ कार्तिक २०८३ १७:३७ शनिबार



