समाज

प्रिमनसुन सक्रिय : दिउँसो घाम, साँझ चट्याङ र असिनासहित वर्षा

गर्मी पनि बढ्ने

हिउँदयाम क्रमशः बिदा हुँदै गर्दा मौसमले अर्को रुप देखाउन थालेको छ। बिहानैदेखि निलो आकाश र चर्को घाम देखिए पनि दिउँसोपछि भने आकाशमा बादल बाक्लिन थाल्छ। साँझतिर मेघ गर्जन्छ, चट्याङ चम्कन्छ र कतिपय स्थानमा असिनासहित पानी पर्छ। मौसमविद्हरूका अनुसार यो प्रि-मनसुनको स्वाभाविक लक्षण हो, जसले अबका दिनमा खण्डित वर्षाको क्रम बढ्ने संकेत गरेको छ।

जल तथा मौसम विज्ञान विभागले चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने क्रम बढ्न सक्ने भएकाले सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ। विशेषगरी दिउँसोको समयपछि मौसम अचानक बद्लिन सक्ने भएकाले खेतबारीमा काम गर्ने, खुला स्थानमा बस्ने वा यात्रा गर्नेहरूलाई सतर्क रहन सुझाव दिइएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार मार्च १ देखि मे महिनासम्मको अवधिलाई प्रि–मनसुन मानिन्छ। 'यो हिउँद सकिएर वर्षायाम सुरु हुनुअघिको समय हो,' उनले भने, 'यो अवधिमा बिहान मौसम सफा रहने तर दिउँसोपछि बादल लागेर साँझतिर मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित पानी पर्नु सामान्य प्रक्रिया हो।'

उनका अनुसार चट्याङ विशेषगरी अपरान्ह २-३ बजेपछि बढी सक्रिय हुने गर्छ। 'अरु बेला पनि चट्याङ नपर्ने होइन,' उनले भने, 'तर दिउँसो २-३ बजेपछि यसको सम्भावना बढी हुन्छ। त्यसैले त्यतिबेला खुला ठाउँमा काम गर्दा वा बस्दा विशेष सावधानी अपनाउनुपर्छ।'

खण्डवृष्टि हुन सक्छ 

मौसमविद्हरूका अनुसार अबका दिनमा लामो समयसम्म सुख्खा रहने अवस्था क्रमशः घट्दै जानेछ। तर तत्काललाई लगातार झरी पर्ने सम्भावना भने देखिएको छैन। 'अब पूर्ण सुख्खा रहने अवस्था कम हुँदै जान्छ,' ढकालले भने, 'तर वर्षा खण्डित प्रकृतिको हुनेछ-एक ठाउँमा ठूलो पानी पर्दा नजिकै अर्को ठाउँ भने सुक्खै रहन सक्छ।'

दिउँसो जमिन धेरै तात्दा बादल तीव्र रूपमा विकास हुने र साँझपख वर्षा गराउने मौसमविद्को भनाइ छ । 'जमिनबाट तातो हावा वायुमण्डलमा पुग्छ। एउटा उचाइमा पुगेपछि चिसो भएर पानीको कण बन्छ। पानीको कण धेरै भएपछि वायुमण्डलको चापले थेग्न सक्दैन र वर्षा हुन्छ।,' मौसमविद् ढकाल भन्छन्, 'माथिल्लो सतहमा हावा चलिरहेकै हुन्छ। जता हावा चल्छ, उतै धकेलिरहेको हुन्छ। त्यसकारण कतै पानी पर्ने, कतै नपर्ने हुन्छ।'

तापक्रम उकालो

प्रि-मनसुन सुरु भएसँगै देशका विभिन्न भागमा तापक्रम पनि क्रमशः बढ्न थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला १३ दिनमा नेपालमा औसत अधिकतम तापक्रम करिब तीन डिग्री सेल्सियसले बढेको छ।

काठमाडौंमा फागुन १७ गते २३ दशमलव ६ डिग्री सेल्सियस रहेको अधिकतम तापक्रम बढेर फागुन २९ गते २५ दशमलव ३ डिग्री सेल्सियस पुगेको छ।

त्यस्तै धनगढीमा फागुन १७ गते ३० डिग्री सेल्सियस रहेको तापक्रम बढेर ३३ डिग्री सेल्सियस पुगेको छ। भैरहवामा ३१ दशमलव ५ डिग्री सेल्सियसबाट बढेर ३४ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ।

पहाडी तथा हिमाली क्षेत्र पनि तापक्रम वृद्धिबाट अछुतो छैनन्। ताप्लेजुङमा १३ दिनअघि १७ दशमलव ५ डिग्री सेल्सियस रहेको अधिकतम तापक्रम बढेर २० दशमलव ५ डिग्री सेल्सियस पुगेको छ भने जुम्लामा २० डिग्री सेल्सियसबाट बढेर २३ डिग्री सेल्सियस पुगेको महाशाखाले जनाएको छ।

मौसमविद्हरूका अनुसार प्रि-मनसुनको अवधिमा तापक्रम वृद्धि, दिउँसोको चर्को घाम र साँझतिर हुने मेघगर्जनसहितको वर्षा नेपाली मौसमको परिचित चक्र हो। यही चक्रले क्रमशः वर्षायामको ढोका खोल्ने गर्छ।

प्रकाशित: ३० फाल्गुन २०८२ १६:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App