मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित दक्षिणकाली सडकखण्डमा ईभी गाडीभित्र बेहोस भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
प्रहरीका अनुसार वीरगञ्जबाट काठमाडौं जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०७७५ नम्बरको ईभी गाडीमा सवार बारा सिम्रनगढ नगरपालिका–११ का करिब १९ वर्षीय प्रदीप पटेल सिस्नेरीको टेकरमा पुगेपछि अचानक बेहोस भएका थिए।
घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी चौकी सिस्नेरीबाट खटिएको टोलीले पटेललाई तत्काल स्वास्थ्य चौकी सिस्नेरी पुर्याएको थियो। सामान्य उपचारपछि बोल्न सक्ने अवस्थामा आएका पटेलले श्वास फेर्न गाह्रो भएको बताएपछि थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
उनीसँग गाडीमा आफन्त वा चिनजानका व्यक्ति कोही नभएको र उनका भाइ सन्दिप पटेलसँग फोनमार्फत समन्वय गरिएको प्रहरीले जनाएको छ।
पटेललाई काठमाडौंको बल्खुस्थित बयोधा अस्पताल पुर्याएर चेकजाँच गर्ने क्रममा बिहान ११ः०३ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरी वृत्त बल्खुले जानकारी दिएको छ।
ईभी गाडी र चालक प्रहरी चौकी सिस्नेरीको नियन्त्रणमा रहेका छन्। गाडी चालक बारा कलैया उपमहानगरपालिका–१९ का करिब २९ वर्षीय तितेश राउत कुर्मी रहेको प्रहरीले जनाएको छ। चालकसँग सवारी चालक अनुमतिपत्र रहेको र मादक पदार्थ सेवन नगरेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।
पटेलको मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २२ भाद्र २०८३ १३:१७ सोमबार