समाज

गण्डकीमा सम्भावित विपद्ः विभिन्न जिल्लामा ‘हाई अलर्ट’

कास्कीको घान्द्रुक जाने बाटोमा मोदी खोलाले गरेको कटान । तस्बिरः नागरिक

पोखरा, साउन ३

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न जिल्लामा भारी वर्षा हुने भन्दै सचेत हुन आग्रह गरेसँगै गण्डकी प्रदेशका जिल्लाले सतकर्ता अपनाएको बताएका छन् । गण्डकी प्रदेशका विभिन्न जिल्लामा भारी वर्षाको सम्भावना रहेको भन्दै प्रदेश सरकारले पनि ‘हाई अलर्ट’मा रहन आग्रह गरेको छ। त्यसै अनुसार तयार अवस्थामा रहेको जिल्लाले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालयले भिन्दाभिन्दै सूचना जारी गर्दै राजमार्गमा रात्रीकालिन यातायात बन्द गर्न सम्म अनुरोध गरेका छन् । रातीको समयमा यात्रा नगर्न, अत्यावश्यक बाहेकमा यात्रा नगर्न पनि प्रशासनले अनुरोध गरेका छन् । प्राधिकरणले गण्डकी प्रदेशका गोरखा, लम्जुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङजामा रातीको समयमा सवारी आवागमनमा रोक लगाउने तथा परिस्थिति अनुसुार जुनसुकै बेला पनि सवारी आवागमन बन्द गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।

विपद् आइपरेमा सुरक्षा निकाय, स्थानीय तह, लगायतका निकाय तयारीमा रहन पनि प्राधिकरणले अनुरोध गरेको छ । जोखिमयूक्त, राजमार्ग र सडकमा डोजर, स्काभेटर, लोडर लगायतका साधन तयारी अवस्थामा राख्न पनि प्राधिकरणले भनेको छ ।  

प्राधिकरणले सूचना पछि गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका ११ वटै जिल्लालाई सचेत रहन आग्रह गरेको प्रदेशको विपद् व्यवस्थापन शाखा प्रमुख ऋषिराज आचार्यले बताए । ‘जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरे अनुसार वर्षा र बाढिपहिरोको जोखिम रहेका जिल्लालाई हामीले सचेत हुन भनेका छौं । आवश्यक परेमा सहयोग माग्न निर्देशन दिएका छौं,’ उनले भने । विपद् व्यवस्थापनका लागि प्रदेशका आफ्नै बलियो संरचना नभएकोले प्रदेशका जिल्ला प्रशासन कार्यालय मार्फत आवश्यक कदम चालिने उनले बताए ।  

‘प्रदेशभित्रका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइएको छ । जोखिमयुक्त जिल्लालाई बढि सचेत हुन भनिएको छ । हाम्रो कमाण्ड पोष्ट तयारी अवस्थामा छ,’ आचार्यले भने, ‘सुरक्षा निकायलाई कुनैपनि बेला विपद्मा जुट्नुपर्ने हुनसक्ने भएकोले तयारी अवस्थामा रहन भनिएको छ ।’  

बढि नै क्षति हुने गरि विपद् आइपरेको खण्डमा कुनै जिल्लालाई जनशक्ति अभाव भएमा प्रदेश सरकारलाई जानकारी गराउन पनि भनेको उनले बताए । ‘सबै जिल्लामा विपद् व्यवस्थापनका लागि बजेट पठाइएको छ । केहीगरि खर्च भएको खण्डमा तुरुन्तै सोधभर्ना गरेर बजेट तयारी अवस्थामा राखिनेछ,’ उनले भने,‘प्रदेशभित्रका सबै निकायसँग समन्वय र सहकार्य गरेका छौं ।’

जिल्ला प्रशासन कार्यालय मनाङले मंगलबारसम्म भारी वर्षाको सम्भावना रहेको भन्दै सचेत हुन आग्रह गरेको छ । नेपाल प्रहरी, सशस्त्र  र सेनालाई तयारी अवस्थामा रहन भनेको जिल्ला प्रशासन कार्यालयले बताएको छ । मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले विज्ञप्ती जारी गर्दै नार, दुध, डोना तथा ठाडा खोलामा पानीको सतह बढ्ने सम्भावना रहेकोले आसपासका क्षेत्रमा जोखिम निम्तन सक्ने उल्लेख गरेका छन ।  

जिल्ला प्रशासन कार्यालय म्याग्दीले बाढिपहिरोको जोखिम रहेको भन्दै विभिन्न रुटमा सवारी चलाउन रोक लगाएको छ । म्याग्दी प्रशासनले सूचना जारी गर्दै बेनी–जोमसोम, बेनी–दरवाङ रुटमा सवारी चलाउन रोक लगाएको हो । शनिवार र आइतबार बेलुकी ७ देखि बिहान ५ बजेसम्म ती रुटमा सवारी चलाउन रोक लगाएको प्रशासनले बताएको छ । पहिरोको जोखिम रहेको कालिगण्डकी करिडोरमा बढि सचेत हुन प्रशासनले आग्रह गरेको छ ।  

यस्तैगरि जिल्ला प्रशासन कार्यालय कास्कीले पनि अति भारी वर्षाको सम्भावना रहेको भन्दै अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कन कास्कीबासीलाई अपिल गरेको छ । कास्की  प्रशासनले शनिबार एक सूचना जारी गर्दै लामो यात्रामा ननिस्कन नागरिकमा अपिल गरेको हो ।

जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत प्रदीप पौडेलद्वारा जारी सूचनामा कुनै पनि बेला अकस्मात बाढी आउनसक्ने सम्भावना भएको भन्दै खोल्सा, खोला तथा नदी किनारमा नजान पनि आग्रह गरेको छ ।  

त्यस्तै कास्की प्रशासनले कास्कीबाट विभिन्न जिल्ला छुट्ने तथा बाहिरी जिल्लाबाट कास्की भित्रिने रात्रीकालीन सवारी साधन सञ्चालनमा पनि रोक लगाएको छ । प्रशासनको सूचनामा भनिएको छ, ‘रातिको समयमा भारी वर्षाको सम्भावना रहेको र बाढी पहिरोको जोखिम बढ्ने भएकाले कास्की जिल्लाबाट छुट्ने तथा कास्की जिल्ला भित्रिने रात्रीकालीन सवारी साधनहरु साँझ ७ बजेदेखि विहान ६ बजेसम्म सञ्चालन नगर्नु ।’  

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले कास्कीबाट पृथ्वी राजमार्ग (पोखरा–काठमाडौं), सिद्धार्थ राजमार्ग (पोखरा–बुटवल), भूपी शेरचन राजमार्ग (पोखरा–बागलुङ) र पोखराबाट पृथ्वी राजमार्ग हुँदै मुग्लिन–नारायणगढबाट पूर्वतर्फ जाने सवारीलाई रोक लगाएको छ । त्यस्तै पोखरा भित्रिने सवारीलाई पनि यात्रामा सचेत हुन भनेको छ ।

त्यस्तै पोखरादेखि ग्रामिण क्षेत्रमा सञ्चालन हुने सवारी साधनलाई पनि शनिबार र आइतबार साँझ ६ बजेदेखि विहान ६बजेसम्म सञ्चालन नगर्न नगराउन आग्रह गरेको छ । प्रशासनले बाढी, पहिरो र डुवानको जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति तथा घर परिवारलाई उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा बसोबास गर्न सचेत गराएको छ ।  

प्रकाशित: ३ श्रावण २०८३ १७:२५ आइतबार