गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका पाँच प्रदेशका ४० भन्दा बढी जिल्लामा भारी वर्षा, पहिरो र हिमपातको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ। प्राधिकरणले जारी गरेको विज्ञप्तिअनुसार कार्तिक १३ गते बिहिबारदेखि १४ गते शुक्रबारसम्म कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराईका स्थानहरूमा भारी वर्षा र हिमपातको असर पर्ने अनुमान गरिएको छ।
सूचनामा कोशीका सबै जिल्ला (झापा, मोरङ, इलाम, उदयपुर, धनकुटा, संखुवासभा आदि), मधेशका सबै जिल्ला, बागमतीका (काठमाडौं, ललितपुर, रसुवा, सिन्धुपाल्चोक, दोलखा आदि), गण्डकीका (गोरखा, मनाङ, मुस्ताङ) र लुम्बिनीका (नवलपरासी, रुपन्देही, कपिलवस्तु र दाङ) जिल्लाहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ।
प्राधिकरणले सम्भावित वर्षा र हिमपातका कारण यातायात, कृषि तथा पर्यटन क्षेत्रमा असर पर्न सक्ने भन्दै पहिले नै पूर्वतयारी र सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
नदी र खोला आसपासका बासिन्दालाई सचेत रहन, जोखिम क्षेत्रबाट सुरक्षित स्थानमा जान, स्थानीय विपद् व्यवस्थापन समिति र सुरक्षा निकायलाई सहयोग गर्न, र निरन्तर सूचना सञ्चार र सचेतना कायम गर्न विज्ञप्तीमा आग्रह गरिएको छ।
साथै प्राधिकरणले वर्षा र हिमपातको प्रभाव बढेमा स्थानीय प्रशासन, प्रहरी र विपद् व्यवस्थापन समितिलाई तयारी अवस्थामा रहन पनि अनुरोध गरेको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सम्भावित क्षति न्यूनीकरणका लागि सबै तहका निकाय र स्वयंसेवकहरूलाई तत्पर रहन निर्देशन दिइएको छ।
प्रकाशित: १३ कार्तिक २०८२ ०९:३६ बिहीबार