समाज

भोलि केही स्थानमा क्षणिक वर्षाको सम्भावना : मौसमविद्

तुवाँलो भने अझै केही दिन रहने

देशका धेरै भू-भागमा केही दिनदेखि देखिएको तुवाँलो अझै केही दिन कायम रहने मौसमविद्ले बताएका छन् ।  

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष मौसम बुलेटिन जारी गर्दै वायुमण्डलको तल्लो तहमा प्रदूषण थुप्रिनु र पर्याप्त वर्षा नहुनुका कारण तुवाँलोको प्रभाव बढेको जानकारी दिएको हो। 

महाशाखाका अनुसार नेपालको उपल्लो वायुमण्डलमा उच्च चापीय मौसम प्रणाली स्थिर रहँदा पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुन सकेको छैन। त्यसका साथै वायुमण्डलको तल्लो तहमा न्यून चापीय गतिविधि पनि पर्याप्त रूपमा विकास हुन नसक्दा वर्षा हुन नसकेको हो। परिणामस्वरूप प्रदूषण वायुमण्डलको तल्लो तहमा जमेर देशका धेरै स्थानमा तुवाँलो देखिएको महाशाखाले जनाएको छ।

मौसमविद्हरूका अनुसार भोलि (बिहीबार)देखि भने वायुमण्डलीय गतिविधि क्रमशः बढ्ने संकेत देखिएको छ। उक्त अवधिमा देशका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको र त्यसले हालको तुवाँलोको अवस्था क्रमशः केही सुधार हुन सक्ने अनुमान गरिएको छ। 

महाशाखाले तुवाँलोका कारण मानव स्वास्थ्यमा पर्न सक्ने असरप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ। मौसमसम्बन्धी पछिल्ला जानकारीका लागि नियमित रूपमा मौसम पूर्वानुमान बुलेटिन अद्यावधिक गरी सार्वजनिक गरिने जनाएको छ।

प्रकाशित: २७ फाल्गुन २०८२ १७:२७ बुधबार