अनेक कारणले बालबालिकाको मानसिक स्वास्थ्य गम्भीर अवस्थामा रहेको भन्दै चिन्ता व्यक्त गरिएको छ। सकारात्मक अभिभावकत्व र बाल मानसिक स्वास्थ्य विषयमा सोमबार राजधानीमा गरिएको कार्यक्रममा यसकारण यसमा सकारात्मक अभिभावकत्व आवश्यक भएकोमा जोड दिए।
सुदृढीकरण तथा सकारात्मक अभिभावकत्व प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागीले मोबाइललगायतका डिभाइस कारण बालबालिका मोबाइल लतमा फसेको भन्दै चिन्ता व्यक्त गरे। यही कारण उनीहरूको मानसिक अवस्था कमजोर भएको विषयमा पनि चर्चा गरियो।
कार्यक्रममा मानिसको आस्था, अभिभावकत्व शैली र मानसिक स्वास्थ्यबिचको अन्तरसम्बन्धबारे गहिरो बहस गरिएको थियो। कार्यक्रम विभिन्न धर्ममा आस्था राख्नेहरूको सामूहिक संगठन अन्तरधार्मिक संघले गरेको थियो। कार्यक्रममा अभिभावक, सरोकारवाला निकाय र विज्ञहरूलाई एउटै मञ्चमा ल्याई छलफल गराइएको थियो।
कार्यक्रम दुई चरणमा भएको थियो। पहिलो सत्रमा बालबालिकाको भावनात्मक विकासमा आस्था र आध्यात्मिकताको भूमिकामाथि प्रकाश पारिएको थियो। बाल मनोचिकित्सक डा. जस्मिन माले मूल्य, आशा, सहनशीलता र करुणा जस्ता पक्षले बाल मानसिक स्वास्थ्यलाई कसरी संरक्षण गर्छन् भन्ने विषयमा प्रस्तुतीकरण गरे। कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेको क्लिनिकल सत्रमा डा. जास्मिनले सकारात्मक अभिभावकत्व र बाल मानसिक स्वास्थ्यबारे विस्तृत प्रस्तुति दिइन्। उनले अभिभावकत्वका शैलीले बालबालिकाको व्यवहार, भावना र दीर्घकालीन मानसिक स्वास्थ्यमा पार्ने प्रभावबारे स्पष्ट पारिन्। साथै भावनात्मक नियन्त्रणका उपाय, प्रारम्भिक चेतावनी संकेत पहिचान र समयमै उपचार तथा रिफरलको आवश्यकता उनले औँल्याइन्।
अन्तरक्रिया सत्रमा सहभागीहरूले आफ्ना अनुभव र जिज्ञासा राख्दै खुला छलफल गरेका थिए। छलफलमा घर, विद्यालय र समुदायले संयुक्त रूपमा बाल मानसिक स्वास्थ्यको संरक्षण गर्नुपर्नेमा जोड दिइयो। कार्यक्रममा महिला आयोगका प्रतिनिधिले बाल अधिकार, नीति तथा संस्थागत भूमिकाबारे धारणा व्यक्त गरेका थिए। वक्ताहरूले सकारात्मक अभिभावकत्वलाई बाल हिंसा न्यूनीकरण र स्वस्थ समाज निर्माणको आधारका रूपमा व्याख्या गरे।
कार्यक्रमको समापन सत्रमा मुख्य सिकाइ, सिफारिस तथा सहभागीहरूको प्रतिक्रिया संकलन गरिएको थियो। कार्यक्रमले बालबालिकाको मानसिक स्वास्थ्यलाई परिवार, आस्था र समुदायसँग जोडेर हेर्नुपर्ने आवश्यकता औँल्याउँदै व्यावहारिक ज्ञान र चेतना अभिवृद्धि गरेको सहभागीहरूको निष्कर्ष निकालियो।
प्रकाशित: ८ पुस २०८२ ०८:३२ मंगलबार