भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि श्रीमान् सम्पर्कविहीन भएपछि जनकपुरकी पूजा शाह २५ दिनदेखि उनको पर्खाइमा छिन्।
रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत ३० वर्षीय इन्जिनियर अजयप्रसाद सिंह बाढीपछि बेपत्ता भएका हुन्। धनुषाको कमला नगरपालिका–६ का सिंह आयोजनामा कार्यरत थिए।
श्रीमानको अवस्था अज्ञात भएपछि पूजा हरेक दिन उनको खोजी र सकुशल फिर्तीको आशामा बिताइरहेकी छिन्। २५ दिनसम्म पनि श्रीमानको कुनै खबर नपाएपछि उनको पीडा झन् बढ्दै गएको छ।
पूजाले सामाजिक सञ्जालमार्फत भगवानसँग आफ्नो श्रीमानलाई सकुशल फर्काइदिन पुकार गरेकी छिन्।
‘भगवान्, साँच्चिकै तिमी छौ भने मेरो यो पुकार किन सुनिरहेका छैनौ? यति धेरै दिनदेखि तिमीलाई पुकारिरहेकी छु, रोइरहेकी छु, प्रार्थना गरिरहेकी छु। मेरो बुढो २५ दिनदेखि बेपत्ता छन्,’ उनले लेखेकी छिन्।
उनले श्रीमानको अवस्था अज्ञात हुँदा हरेक पल छटपटीमा बितिरहेको बताएकी छिन्। ‘अब त यो पीडाले सास फेर्न पनि गाह्रो भइरहेको छ,’ उनले पीडा पोखेकी छिन्।
पूजाले आफूलाई धन–सम्पत्ति वा अन्य केही नचाहिएको भन्दै श्रीमान् मात्र फर्काइदिन भगवानसँग प्रार्थना गर्छिन्।
‘मसँग केही माग छैन, केही चाहिएको छैन- मलाई मेरो मान्छे मात्र फर्काइदेऊ। जहाँ छन्, जसरी छन्, सुरक्षित राखेर मेरो अगाडि ल्याइदेऊ,’ उनले लेखेकी छिन्, ‘मेरो छोरीलाई उसको बाबा चाहिएको छ, मलाई मेरो बुढो चाहिएको छ। हाम्रो सानो संसार फेरि पूरा गरिदेऊ।’
लामो समयदेखि श्रीमानको अवस्थाबारे कुनै जानकारी नआएपछि आफू मानसिक रूपमा निकै कमजोर बन्दै गएको उनले बताएकी छिन्। तर छोरीलाई हेरेर आफूलाई सम्हालिरहेको उनको भनाइ छ।
‘यस्तो अनिश्चितता र तड्पाइमा जीवन बिताउनुभन्दा मेरो मनले हार्न खोज्छ। तर मेरी छोरीलाई हेरेर म आफूलाई सम्हालिरहेकी छु,’ उनले लेखेकी छिन्।
उनले श्रीमानको सकुशल फिर्ती नै आफ्नो अन्तिम आशा भएको बताउँदै भगवानसँग त्यो आशा नतोड्न आग्रह गरेकी छिन्।
‘मेरो मान्छे जहाँबाट भए पनि फर्काइदेऊ। मेरो छोरीको बाबालाई उसको काखमा फर्काइदेऊ। मेरो संसारलाई फेरि मेरो अगाडि उभ्याइदेऊ,’ पूजाको भावुक अपिल छ।
भोटेकोशीमा आएको बाढीपछि माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत केही व्यक्ति सम्पर्कविहीन भएका थिए। उनीहरूको खोजीका लागि आयोजनाका प्रतिनिधिसहित विभिन्न निकायको संयुक्त टोलीले खोजी कार्य जारी राखेको छ।
यो पनि पढ्नुहोस्
दुई महिने छोरी बोकेर अजयलाई पर्खिरहेकी पूजा भन्छिन्: मेरो बेबी सकुशल फर्केर आऊप्रकाशित: ४ आश्विन २०८३ ०८:०७ आइतबार