समाज

पानी परेपछि प्रदूषण केही घट्यो तर अझै पनि अस्वस्थ

पानी परेपछि काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा प्रदुषणको मात्रा थोरै घटेको छ। यद्यपी भक्तपुर र ललितपुरको भैसीपाटीको हावा भने अझै पनि मानिसको लागि अस्वस्थ अवस्थामा रहेको वातावरण विभागले जनाएको छ। विभाग अन्तर्गतको वायु गुणस्तर निगरानी शाखाका अनुसार भक्तपुर र भैसीपाटीमा हावाको गुणस्तर एक्यूआई १५२ छ। 

यस्तै दाङको देउखुरी, सुनसरीको झुम्का, अछाम, ललितपुरको खुमलटार, काठमाडौंको शंखपार्क, रत्नपार्क, त्रिभूवन विश्वविद्यालय आसपासका क्षेत्रमा प्रदुषणको मात्रा संवेदनशील नागरिकको लागि हानिकारक अवस्थामा छ।

त्यहाँ हावाको गुणस्तर एक्यूआई एक सयभन्दा माथि छ।

नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) अनुसार ०-५० हुँदा राम्रो, ५१-१०० हुँदा मध्यम, १०१-१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१-२०० अस्वस्थ, २०१-३०० निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको सङ्केत गर्छ।

एअर क्वालिटी इन्डेक्स (एक्यूआई) दैनिक रूपमा वायुको गुणस्तर रिपोर्ट गर्ने सूचकाङ्क हो। यसले हावा कति सफा वा प्रदूषित छ भन्ने बताउँछ। एक्यूआईले प्रदूषित हावासँग सम्बन्धित स्वास्थ्य प्रभावहरूबारे जानकारी दिने काम गर्छ। एक्यूआईमा ग्राउन्ड-लेभल ओजन (भू-तहको ओजन - ओ ३), कण प्रदूषण (कण पदार्थ-पी.एम २.५ र पी.एम. १००, कार्बन मोनो अक्साइड, सल्फर डाइअक्साइड र नाइट्रोजन डाइअक्साइडको गणना गरिन्छ।

प्रकाशित: ३० फाल्गुन २०८२ १४:१० शनिबार