समाज

नवलपुरमा ट्र्याक्टरको ठक्करबाट प्रहरी जवानको मृत्यु

पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को देवचुलीमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ।

दुर्घटनामा काठमाडौंस्थित प्रहरी वृत्त सामाखुसीमा कार्यरत २४ वर्षीय प्रहरी जवान लोकेश भण्डारीको ज्यान गएको हो।

डडेलधुराको अजयमेरु गाउँपालिका–१ स्थायी ठेगाना भएका भण्डारी सवार मोटरसाइकललाई आज बिहान ट्र्याक्टरले ठक्कर दिएको थियो।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.प्र. ०२-०७३ प २०७७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गुडिरहेको लु ३ त ३६३३ नम्बरको ट्र्याक्टरले पछाडिबाट ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका भण्डारीलाई प्रहरीले तत्काल उद्धार गरी डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पुर्‍याएको थियो। अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल पण्डितले जानकारी दिए।

प्रहरीले दुर्घटनामा संलग्न ट्र्याक्टर र त्यसका चालक नवलपरासीको कावासोती नगरपालिका–१३ निवासी ३२ वर्षीय लोकबहादुर महतोलाई नियन्त्रणमा लिएको छ।

घटनाका सम्बन्धमा थप कानुनी अनुसन्धान भइरहेको डीएसपी पण्डितले बताए।

प्रकाशित: २२ कार्तिक २०८३ १५:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App