समाज

प्रहरीले भन्यो : ‘सेना र प्रहरीले राहत सामग्री वितरण नगरेको’ भन्ने कुरा भ्रामक

भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मीहरूमाथि राहत सामग्री दुरुपयोग गरेको भन्दै सामाजिक सञ्जालमा फैलाइएको अफवाहप्रति नेपाल प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै ‘सेना र प्रहरीले राहत सामग्री आफैं लगेको, वितरण नगरेको र राहत सामग्री सडाएको’ भन्नेजस्ता भ्रामक सूचनाहरूको खण्डन गरेको छ।

प्रहरीले आफ्नो मातहतमा कुनै पनि राहत सामग्री भण्डारण गरेर नराखिने स्पष्ट पारेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूमा बाढीपहिरोपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानहरूले आफ्नो ज्यानको बाजी लगाएर नागरिकको उद्धार, बेपत्ताको खोजी, घाइतेको उपचार र राहत वितरणमा निरन्तर काम गरिरहेका छन्। यस्तो कठिन परिस्थितिमा खटिएका सुरक्षाकर्मीको मनोबल गिराउने र नागरिकमा अविश्वास फैलाउने गरी कपोलकल्पित आरोप लगाउनु अत्यन्तै दुःखद र गैरजिम्मेवारपूर्ण कार्य हो।’

विज्ञप्तिमा विपद्को समयमा सुरक्षाकर्मीको मनोबल कमजोर पार्ने र भ्रम सिर्जना गर्ने किसिमका अपुष्ट सूचना तथा अफवाह प्रचार–प्रसार नगर्न सबैमा अनुरोध गरिएको छ।

प्रकाशित: २३ भाद्र २०८३ १८:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App