समाज

भोटेकोशी बाढीबारे गलत सूचना नफैलाउन प्रहरीको अनुरोध

भोटेकोशी नदीमा आएको बाढीपछि सामाजिक सञ्जालमा गलत तथा तथ्यहीन सूचना नफैलाउन प्रहरीले अनुरोध गरेको छ।

प्रहरीले बाढीबाट भएको क्षतिबारे पुष्टि नभएका सूचना सेयर गर्दा सर्वसाधारणमा भ्रम सिर्जना हुनुका साथै वास्तविक उद्धार तथा राहत कार्यमा समेत बाधा पुग्न सक्ने बताएको छ।

प्रहरीले पुष्टि भएका सूचना मात्रै सेयर गर्न, एआईबाट निर्मित सामग्रीलाई हालकै घटनासँग जोडेर प्रसार नगर्न तथा कुनै सामग्री सेयर गर्नुअघि त्यसको स्रोत र सत्यता जाँच गर्न आग्रह गरेको छ।

उद्धार आवश्यक परे नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल वा सम्बन्धित आधिकारिक निकायलाई जानकारी गराउन पनि प्रहरीले अनुरोध गरेको छ।

भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा जोखिम बढेको छ। सरकारले ती क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।

प्रकाशित: १० भाद्र २०८३ १४:१७ बुधबार