धादिङको विभिन्न स्थानमा पहिरो गइरहेका कारण प्रहरीले यात्रा नगर्न अनुरोध गर्दै माइकिङ गरिरहेको छ।
नागढुंगा–मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेको र तत्काल उक्त पहिरो हटाउन सम्भव नरहेको भन्दै आज विहानैदेखि प्रहरीले यात्रा नगर्न अनुरोध गर्दै माइकिङ गरिरहेको हो।
काठमाडौंको मुख्य नाका नागढुंगा चेकपोष्टमा तैनाथ प्रहरीहरूले माइकिङ गर्दै अगाडि नबढ्न अनुरोध गरिरहेका छन्।
‘धादिङको विभिन्न ठाउँमा पहिरो आएको र तत्काल खुलाउन सक्ने अवस्था नरहेको हुँदा सम्पूर्ण चालक/सहचालक महानुभावहरू, तपाईंहरूलाई यहाँबाट पठाउन सकिँदैन। त्यसैले सुरक्षित तरिकाले काठमाडौं फिर्ता भई सुरक्षित रहनुहुन अनुरोध गर्दछौँ,’ प्रहरीले माइकिङ गर्दै भनिरहेको छऽ
यसैबिच, पहिरोका कारण बिहानदेखि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड र पृथ्वीराजमार्ग अन्तर्गतको मुग्लिन-नागढुङ्गा सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ।
धादिङ बेनिघाट रोराङ–१० जवाङखोलामा खसेको पहिरो पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ पठाइएको र चितवनको इच्छाकामना-५ तुइनखोला पुलमा खसेको पहिरो पन्छाएपछि सडक सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।
पहिरो पन्छाने र सवारीसाधन पार गराउने कार्य जारी रहेको र जुनसुकै बेला ठूलो पहिरो खस्ने जोखिम रहेकाले सावधानीपूर्वक यात्रा गर्न उनले आग्रह गरेका छन्। पानी परिरहेको र ढुङ्गा-माटो झर्ने क्रम जारी रहेकाले उच्च जोखिम भने कायम रहेको प्रहरी जनाएको छ।
प्रकाशित: १८ आश्विन २०८२ ०९:०५ शनिबार