समाज

भद्रकालीमा पत्रकारको शान्तिपूर्ण धर्नामा प्रहरीको धरपकड

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा नेपाल पत्रकार महासंघको नेतृत्वमा जिल्ला प्रहरी परिसर, भद्रकालीमा आयोजित शान्तिपूर्ण धर्नामा प्रहरीले हस्तक्षेप गर्दै पत्रकारमाथि धरपकड गरेको छ।

पत्रकार किशोर श्रेष्ठमाथी पक्राउको विरोधमा  र पत्रकारमाथि भइरहेको ज्यादती र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपको विरोधमा महासंघको नेतृत्वमा पत्रकारहरू भद्रकालीस्थित प्रहरी परिसर अगाडि धर्नामा बसेका थिए। धर्नाका क्रममा प्रहरीले पत्रकारहरूलाई हटाउने प्रयास गर्दै धरपकड गरेको हो। 

शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गरिरहेका पत्रकारमाथि प्रहरीबाट भएको हस्तक्षेपले प्रेस स्वतन्त्रता र नागरिकको मौलिक अधिकारमाथि गम्भीर प्रश्न उठाएको पत्रकारहरूले बताएका छन्। 

नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरेको अवस्थामा समाचार संकलन तथा प्रकाशनका विषयमा पत्रकारमाथि प्रहरी हस्तक्षेप हुनु आपत्तिजनक भएको महासंघकी अध्यक्ष निर्मला शर्माको धारणा छ। 

पत्रकारमाथि हुने कुनै पनि प्रकारको धम्की, दबाब, धरपकड वा पक्राउले स्वतन्त्र पत्रकारिताको वातावरण कमजोर बनाउने पत्रकार संगठनहरूको भनाइ छ। 

यस घटनालाई लिएर पत्रकार समुदायले सरकार र सुरक्षा निकायसँग पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न तथा शान्तिपूर्ण विरोध प्रदर्शनमा हस्तक्षेप नगर्न  र पत्रकार किशोर श्रेष्ठको रिहाईको माग गरेका छन्। 

प्रकाशित: २८ श्रावण २०८३ ११:११ बिहीबार