प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीले नागरिकमैत्री, नागरिकप्रति उत्तरदायी, पारदर्शी, प्रभावकारी र छिटोछरितो सेवा प्रवाह गरी जनताको भरोसा अभिवृद्धि गर्ने गरी कार्यसम्पादन गर्न निर्देशन दिएका छन्।
हालै सरुवा भई आ-आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी उपरीक्षकहरूलाई शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। सो क्रममा उनले सरुवा भएका अधिकृतहरूलाई उपलब्धिपूर्ण र उत्कृष्ट कार्य सफलताको शुभकामनासमेत दिए।
प्रहरी महानिरीक्षक केसीले साइबर अपराध, सीमा अपराध, तस्करी नियन्त्रण, हातहतियार बरामद र फरार प्रतिवादी पक्राउलाई प्राथमिकतामा राख्न भने। उनले थप व्यावसायिक, अनुशासित, निष्ठावान् र इमानदार भएर कार्यसम्पादन गर्नुपर्ने उल्लेख गरे।
आ-आफ्नो क्षेत्रका सम्भावित सुरक्षा चुनौतीको पहिचान तथा विश्लेषण गरी आवश्यकताअनुरूप सुरक्षा योजना र रणनीति अवलम्बन गर्दै योजनाबद्ध तवरले प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने उनले बताए। साथै, भीड नियन्त्रणमा बल प्रयोगको सिद्धान्त अवलम्बन गरी थप संवेदनशील भएर कार्य गर्नुपर्ने उनको भनाइ छ।
महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अल्पसंख्यकप्रति थप संवेदनशील भई पीडितका गुनासोको उचित सम्बोधन गर्नुपर्नेमा केसीले जोड दिए। प्रहरी कार्यालयबाट प्रवाह हुने सेवालाई थप सहज र सरल बनाउँदै लैजानुपर्ने उनले बताए।
उनले आधारभूत तहका प्रहरी कर्मचारीका गुनासोलाई विशेष प्राथमिकतामा राखी उचित सम्बोधन गर्नुपर्ने उल्लेख गरे। सामूहिक भावना र नवीनतम सोचका साथ प्राप्त जिम्मेवारी उत्कृष्ट रूपमा सम्पादन गर्न तथा कार्यालय व्यवस्थापनलाई अझ उत्कृष्ट बनाउँदै लैजान उनले उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिए।
आ-आफ्नो क्षेत्रको शान्ति सुव्यवस्था प्रभावकारी बनाउन र अपराध नियन्त्रण गर्न स्थानीय तह तथा अन्य सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरी कार्यसम्पादन गर्नसमेत उनले निर्देशन दिए।
कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेलगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति थिए।
प्रकाशित: ११ मंसिर २०८३ १४:२६ शुक्रबार