समाज

धार्मिक सद्भाव बिथोल्ने गतिविधि नगर्न प्रहरी महानिरीक्षक कार्कीको अपिल

फाइल तस्बिर

पछिल्लो समय सुनसरीलगायत पूर्वी तराईका केही क्षेत्रमा देखिएको तनावबिच नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नागरिकलाई शान्ति र सद्भाव कायम राख्न अपिल गरेका छन्।

महानिरीक्षक कार्कीले भिडियो सन्देश जारी गर्दै देशमा विविधताबिचको एकता पुरानो पहिचान भएको बताएका छन्। उनले भने, ‘धर्म, भाषा, जाति र संस्कृतिको भिन्नता भए पनि हामी आपसी सम्मान, सहिष्णुता र सद् भावका साथ बसेका छौं।’

पछिल्लो समय पूर्वी तराईका केही क्षेत्रमा धार्मिक सद् भाव बिथोल्ने र त्रास सिर्जना गर्ने गतिविधि बढेकोप्रति प्रहरीले ध्यानाकर्षण गराएको उनले जानकारी दिएका छन्। समाजमा अफवाह फैलाउने, उत्तेजक कुरा गर्ने र कानुन तोड्ने काम कसैको पनि हितमा नहुने उनको भनाइ छ। यस्ता कार्यले तनाव र विभाजन मात्र ल्याउने भएकाले अफवाह र घृणा फैलाउने कुराबाट टाढा रहन उनको आग्रह छ।

कानुनको पालना गर्दै एक-अर्काको धर्म, संस्कृति र आस्थाको सम्मान गर्नुपर्नेमा जोड दिँदै उनले भनेका छन्, ‘हाम्रो धर्म र संस्कृति भिन्न भए पनि देश एकै हो र भावना पनि एकै छ।’ सबैले संयमता अपनाएर आपसी भाइचारा र सामाजिक सद् भाव कायम राख्न प्रहरी प्रमुख कार्कीले अनुरोध गरेका छन्।

प्रकाशित: १५ श्रावण २०८३ ०९:५१ शुक्रबार