पर्सा प्रहरीले वीरगन्जको गण्डकमा रहेको क्लार्क रिसोर्टमा सञ्चालित गोल्डेन फिगर क्यासिनोबाट शनिबार राति ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेललाई पनि नियन्त्रणमा लिएको छ।
प्रहरी निरीक्षक पौडेल र सखुवा प्रसौनी गाउँपालिकाको अध्यक्ष जसवन्त यादवसहित ८ जनालाई क्यासिनोबाट नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रमुख पवन भट्टराईले बताएका छन्। यादव गाउँपालिकाको ना.१ झ १६८७ नम्बरको सरकारी स्कोर्पियो चढेर क्यासिनो पुगेका थिए भने प्रहरी निरीक्षक पौडेल अरुको गाडी चढेर क्यासिनोमा पुगेको प्रहरीले जनाएको छ।
क्यासिनोबाट पक्राउ पर्नेमा चार जना क्यासिनोका कर्मचारीहरू समेत रहेको पर्साका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर मल्लले बताएका छन्।
सरकारी सवारीसाधन प्रयोग गरी जनप्रतिनिधि क्यासिनो परिसरमा पुगेको विषयलाई गम्भीर रूपमा लिएको मल्लले बताए। नेपाली नागरिकलाई क्यासिनोमा जुवा खेल्न प्रतिबन्ध रहेको अवस्थामा गाउँपालिका अध्यक्ष सरकारी सवारी साधनसहित क्यासिनोमा कसरी प्रवेश पाए र प्रहरी निरीक्षकसहित अन्य दुई जना गरी चार नेपाली नागरिक क्यासिनोबाट पक्राउ परेको विषयमा अनुसन्धान भैरहेको मल्लले बताए।
पालिका प्रमुख यादव, प्रहरी निरीक्षक पौडेलसहित पक्राउ परेकाहरूलाई पर्सा प्रहीको हिरासतमा राखिएको बताइएको छ।
प्रकाशित: २१ भाद्र २०८३ ०९:३३ आइतबार