रसुवाको भोटेकोशी नदिमा आएको भीषण बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका हवल्दार श्रवणकुमार यादवको २८ औं दिनमा कुशको प्रतीकात्मक शव बनाएर बुधबार राष्ट्रिय सम्मानका साथ अन्तिम संस्कार गरिएको छ।
पर्सास्थित तिलावे खोलाको घाटमा आयोजित शोकपूर्ण समारोहबीच उनका १० वर्षीय छोरा युवराज यादवले दागबत्ती दिए।
पर्सागढी नगरपालिका-९ एकटङ्गा टोल घर भई रसुवाको टिमुरे इलाका प्रहरी कार्यालयमा कार्यरत यादव गत भदौ १० गतेको बाढीपछि सम्पर्कविहीन भएका थिए।
लामो समयसम्म खोजी गर्दा पनि शव फेला नपरेपछि धार्मिक परम्पराअनुसार कुशको शव बनाई अन्तिम बिदाइ गरिएको हो। जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी राजु कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले प्रतीकात्मक शवमा नेपाल प्रहरीको झण्डा ओढाएर सलामी अर्पण गरेको थियो।
२८ दिनसम्म पनि छोरा नभेटिएपछि जीवितै पाउने आशा समाप्त भएको हवल्दारका बुवा किशोरी प्रसाद यादवले बताए। लामो समयसम्म संस्कार नगरी छाड्दा दिवंगत आत्माले मोक्ष नपाउने धार्मिक विश्वास रहेकाले परिवारको सल्लाहमा कुशको शव बनाएर काजकिरिया सुरु गरिएको उनले सुनाए।
आमाबुवाका एक्ला छोरा रहेका हवल्दार यादवको असामयिक वियोगले सिङ्गो परिवारको सहारा गुमेको छ। उनका १० वर्षीय छोरा युवराज, ७ वर्षीया छोरी अनुष्का कुमारी र ३ वर्षीया कान्छी छोरी रिधी रहेका छन्। घरको एकमात्र कमाउने व्यक्तिको निधनपछि वृद्ध बुवाआमा, श्रीमती र नाबालक सन्तान बेसहारा बनेका छन्।
२०६५ सालमा प्रहरी जवानबाट सेवा प्रवेश गरेका यादव सात महिनाअघि जिल्ला प्रहरी कार्यालय रसुवा पुगेका थिए भने घटनाको एक महिनाअघि मात्रै उनको सरुवा टिमुरे इलाका प्रहरी कार्यालयमा भएको थियो।
गत असारमा १०-१२ दिनको बिदा मनाएर कार्यक्षेत्र फर्किएका उनले बाढी आएकै दिन श्रीमतीलाई फोन गरेर परिवारको हालखबर सोधेका थिए।
फोनमा उनले आगामी छठ पर्वमा घर आउने र त्यतिञ्जेल बालबच्चालाई नियमित विद्यालय पठाउन तथा आमाबुवाको ख्याल राख्न भनेको उनका भाइ कृष्णप्रसाद यादवले स्मरण गरे।
पर्साका प्रहरी प्रमुख एसपी पवन भट्टराईले शोकाकुल परिवारलाई भेटेर समवेदना व्यक्त गर्दै परिवारको मुख्य सहारा गुम्नु अत्यन्तै पीडादायी भएको बताए।
डिएसपी कार्कीले हवल्दार यादवको योगदानको स्मरण गर्दै बालबालिकाको शिक्षादीक्षा र परिवारले पाउने राज्यको सम्पूर्ण सेवा-सुविधा उपलब्ध गराउन प्रहरी प्रशासनले अभिभावकीय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए।
अन्तिम संस्कारमा पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठक, वडा नं-९ का अध्यक्ष रामबधाई यादवसहित जनप्रतिनिधि र स्थानीयको बाक्लो उपस्थिति थियो।
भदौ १० गतेको बाढीमा हवल्दार यादवसहित नेपाल प्रहरीका ३२ जना सुरक्षाकर्मी बेपत्ता भएका थिए।
सोही विपद्पछि पर्सा जिल्लाका मात्रै ५० जना सम्पर्कविहीन बनेकोमा ६ जना सम्पर्कमा आएका र ३ जनाको उद्धार गरिएको थियो। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार बाढीमा परेका जिल्लाका ४१ जना अझै सम्पर्कविहीन छन्।
प्रकाशित: ७ आश्विन २०८३ २१:४३ बुधबार