समाज

बानेश्वर प्रदर्शनपछि रातमा प्रहरीको ‘सर्च अपरेशन’, घरभित्रै पसेर धरपकड

जेन-जीको प्रदर्शन हिंसात्मक बनेपछि उत्पन्न तनावका बीच प्रहरीले रातमा घर-घरमा पसेर ‘सर्च अपरेशन’ चलाएको छ।

सोमबार राति कर्फ्यू जारी रहेकै अवस्थामा सुरक्षाकर्मीहरूले बानेश्वर र आसपासका क्षेत्रका घरहरूमा प्रवेश गरी प्रदर्शनमा संलग्न भएको आशंकामा दर्जनौं युवालाई पक्राउ गरेका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो तथा तस्बिरहरूमा दंगा नियन्त्रण प्रहरीको टोली आवासीय भवनहरूमा प्रवेश गरिरहेको देखिन्छ। कर्फ्यूको समयमा भएको यो अप्रत्याशित धरपकडले स्थानीय बासिन्दामा त्रासको वातावरण सिर्जना गरेको छ।

प्रहरीले भिडियो फुटेज र अन्य प्रमाणका आधारमा शंकास्पद व्यक्तिहरूको खोजी गरिरहेको छ। यता, स्थानीय बासिन्दाहरूले भने प्रहरीले बिना वारेन्ट घरभित्र पसेर जथाभावी धरपकड गरेको र युवाहरूलाई सोधपुछका लागि भन्दै नियन्त्रणमा लिएको गुनासो गरेका छन्।

रातमा प्रहरी घरको ढोका ढकढक्याउन आएपछि सर्वसाधारण आतंकित बनेका छन्।

सोमबार भएको प्रदर्शनमा प्रहरीको गोली लागेर दर्जनौं प्रदर्शनकारीको मृत्यु भएपछि बानेश्वर क्षेत्र तनावग्रस्त छ। सरकारले स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यू आदेश जारी गरेको थियो।

प्रकाशित: २३ भाद्र २०८२ २१:५० सोमबार