भोटेकोशी बाढी, लगातारको वर्षा र सडक अवरोधका कारण पोखरामा पर्यटक आगमन अहिले ठप्पप्रायः छ। मुलुकको पर्यटकीय राजधानीमा स्वदेशी तथा विदेशी पर्यटक नहुँदा सुनसान बनेको पोखराले विश्व पर्यटन दिवसका अवसरमा भने ‘नेपाल खुला छ, पोखरा पर्यटकको स्वागतका लागि तयार छ’ भन्ने सन्देश दिएको छ।
प्राकृतिक विपत्तिले पर्यटन क्षेत्र प्रभावित भइरहेका बेला पोखराको लेकसाइडमा आइतबार साँझ आयोजित मिनी सडक महोत्सवमार्फत पर्यटन व्यवसायीले प्रतिकूल परिस्थितिकाबीच यहाँका पर्यटकीय गतिविधि सञ्चालनमा रहेको र पर्यटकको स्वागतका लागि व्यवसायीसमेत तयार रहेको सन्देश प्रवाह गरेका हुन्।
रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले आयोजना गरेको महोत्सवमा पर्यटन क्षेत्र खुला रहेको सन्देश प्रवाह गराइएको थियो। भोटेकोशी बाढी तथा देशका विभिन्न स्थानका विपत्तिसँगै पोखरा जोड्ने मुख्य सडकमार्ग पृथ्वी राजमार्ग प्रभावित हुँदा पर्यटक आगमन उल्लेख्य रूपमा घटेको छ।
सामान्य अवस्थामा स्वदेशी तथा विदेशी पर्यटकले भरिभराउ हुने लेकसाइडमा अहिले पर्यटकको उपस्थिति न्यून छ। यस्तो अवस्थामा पर्यटन दिवसको अवसर पारेर आयोजना गरिएको महोत्सवले लेकसाइडमा केही चहलपहल बढाउनुका साथै पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउने प्रयास गरेको छ।
महोत्सवमा विभिन्न सांस्कृतिक, मनोरञ्जनात्मक तथा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो। पोखराको मौलिक संस्कृति, स्थानीय कला, खानाका परिकार तथा आतिथ्यलाई महोत्सवमा प्राथमिकता दिइएको थियो।
रेवान पोखराका अध्यक्ष वसन्त गौतमले पर्यटन क्षेत्रले विषम परिस्थितिको सामना गरिरहेका बेला पोखरा सुरक्षित रहेको र पर्यटकको स्वागतका लागि तयार रहेको सन्देश दिन महोत्सव आयोजना गरिएको बताए।
“भोटेकोशी बाढी र लामो समय मुख्य राजमार्ग अवरुद्ध हुँदा पोखराको पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित बनेको छ। बुकिङ रद्द भएका छन्। यस्तो अवस्थामा महोत्सवमार्फत स्थानीय कला, संस्कृति, खानाका परिकार तथा आतिथ्यलाई पर्यटकसमक्ष प्रस्तुत गरेर यहाँका पर्यटकीय गन्तव्य खुला तथा सुरक्षित रहेको सन्देश दिन महोत्सव सफल भएको छ”, अध्यक्ष गौतमले भने।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको पर्यटनलाई लेकसाइडमा मात्र सीमित राख्न नहुने बताए। पोखरा आउने पर्यटकको आवश्यकता र रुचिअनुसार सेवा तथा पर्यटकिय क्षेत्रको विस्तार गर्नुपर्नेमा उनले जोड दिए।
“पोखरामा आउने पर्यटकको आवश्यकता र रुचिअनुसार सेवा तथा पर्यटन उत्पादन विकास गर्नुपर्छ। यहाँको पर्यटकीय गतिविधिलाई विस्तार गर्दै नयाँ गन्तव्य र अनुभवसँग जोड्नुपर्ने आवश्यकता छ”, प्रमुख आचार्यले भने।
उनले पर्यटकलाई व्यवसायीले आफूले दिन चाहेको सेवामात्र नभई उनीहरूको इच्छा र आवश्यकताअनुसार सेवा उपलब्ध गराउनुपर्ने बताए।
पर्यटकीय राजधानी पोखरालाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने पृथ्वी राजमार्ग दुई साताभन्दा बढी समय प्रभावित बनेको तथा अन्य सडक मार्गमा समेत अवरोध र जोखिम बढेपछि पर्यटक आगमन प्रभावित भएको पर्यटन व्यवसायीले बताएका छन्।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले सुस्ताएको पोखराको पर्यटन गतिविधिलाई चलायमान बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने बताए। पोखराबाट हालै फ्लाइ दुबईले पोखरा–दुबई रुटमा उडान सुरु गरेपछि पोखराको पर्यटन गतिविधिमा सकारात्मक प्रभाव पर्ने उनले विश्वास व्यक्त गरे।
“फ्लाइ दुबइको उडानसँगै पोखरा तथा गण्डकी प्रदेशको अन्तरराष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटन प्रवर्द्धन तथा यात्रु आवागमनमा थप सहजीकरण भएको छ। यो उडानलाई दिगो र दीर्घकालीन बनाउन सकेको खण्डमा पोखराको पर्यटनले मात्र होइन सबै क्षेत्रमा समृद्धिको ढोका खुल्नेछ”, अध्यक्ष भुजेलले भने।
लगातारको वर्षाका कारण प्रभावित पोखराको मौसम आइतबार बिहानदेखि सुधार हुँदै गएपछि महोत्सवका क्रममा लेकसाइडमा चहलपहलसमेत बढेको थियो। महोत्सवमा सांस्कृतिक प्रस्तुति, मनोरञ्जनात्मक कार्यक्रम तथा स्थानीय परिकार प्रस्तुत गरिएको थियो।
भोटेकोशी बाढी र मनसुनको प्रभाव कम हुँदै गएकाले पर्यटक आगमन बढ्ने विश्वास यहाँका व्यवसायीको छ। विश्व पर्यटन दिवसका अवसरमा यहाँका पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले स्थल तथा हवाईमार्गबाट पोखरा आउने विदेशी पर्यटकलाई स्वागत गरेका थिए।
प्रकाशित: १२ आश्विन २०८३ ०७:५९ सोमबार