फोहोरबाट आम्दानी दिलाउने र हरित रोजगारीको बाटो देखाउने उद्देश्यसहित पोखरामा आरयु (रिसाइकल र अपसाइकल) फेस्ट सुरु भएको छ। पोखरामा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोग तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना चलिरहेको छ। सोही परियोजना सञ्चालनअन्तर्गत उत्पादित सामग्रीको प्रदर्शन गर्दै सचेतना दिलाउन यो कार्यक्रम गरिएको पोखरा महानगरपालिकाले जनाएको छ।
फेस्टमा दिगो फोहोर व्यवस्थापनका उपायबारे सचेतना जगाउँदै चक्रीय अर्थतन्त्र र प्लास्टिक प्रदूषण न्यूनीकरणका विषयमा जानकारी गराइने पोखरा महानगरका मेयर धनराज आचार्यले जानकारी दिए। ‘रिथिंक २०२६ फ्रम वेस्ट टु वर्थ’ भन्ने नाराका साथ बुधबार सुरु भई दुई दिन चल्ने फेस्टको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका थिए। त्यसक्रममा उनले फोहोरलाई केवल समस्याका रूपमा मात्र नहेरी यसका सामाजिक, आर्थिक र वातावरणीय सम्भावनाको पहिचान गर्दै पुनर्प्रयोग र प्रशोधन गर्नुपर्नेमा जोड दिए। कोइकाको आर्थिक सहयोग तथा युएनडिपीको प्राविधिक सहयोगमा रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजना झन्डै एक अर्ब ४४ करोड ८७ लाख रुपैयाँको लगानी सञ्चालन भइरहेको छ। यस परियोजना पाँच वर्षसम्म कोइका र युएनडिपीले नै सञ्चालन गर्नेछ भने त्यसपछि सन् २०२७ को मार्च २७ मा पोखरा महानगरलाई हस्तान्तरण गर्नेछ।
प्रकाशित: ३ मंसिर २०८३ ०८:३७ बिहीबार
-600x400-wm.jpg)


