केही महिना अघिसम्म पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्डको यात्रा सकसपूर्ण थियो। सडक विस्तारको काम करिब अन्तिम चरणमा पुगेसँगै राजमार्गको यात्रा यतिबेला सहज पनि बनिसकेको छ। राजमार्ग सहज भएसँगै यात्रा अवधि पनि छोटिएको छ।
पोखरा–मुग्लिन खण्डमध्ये पोखरा–आँबुखैरेनी (८० किमि) मात्र पहिलो चरणमा विस्तार गरिएको हो। उक्त खण्डलाई पनि दुई भाग (पूर्वीखण्ड आँबुुखैरेनी–जामुने ४१ किलोमिटर र पश्चिमखण्ड जामुने–पोखरा ३९ किलोमिटर) मा बाँडेर यो सडक विस्तार गरिएको थियो।
विस्तारको काम छोटिँदै जाँदा यो दुरीको एकाध खण्डमा मात्र कालोपत्रे हुन बाँकी छ। ठुला आकारका पुल निर्माणका क्रममा रहेकाले पुल आसपासका क्षेत्रमा मात्र कालोपत्रेको काम बाँकी छ। चिल्लो सडकमा तीव्रगतिमा सवारी गुडाउँदा चुनौती पनि थपिँदै गएको छ। दिनहुँजसो राजमार्गको कुनै न कुनै ठाउँमा सानाठुला दुर्घटना हुन थालेका छन् र मानवीय क्षति पनि हुन थालेको छ।
गण्डकी प्रदेशको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार पछिल्लो चार महिना (वैशाख–साउन) को अवधिमा पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्डमा भएका सवारी दुर्घटनामा १९ जनाको ज्यान गएको छ। दुर्घटनामा ५५ जना घाइते भएका छन्। यो अवधिमा ३४ वटा सानाठुला दुर्घटना भएका छन्।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकीका प्रमुख एसपी दानबहादुर थापा भन्छन्, ‘पोखरा–मुग्लिन खण्डमा दुर्घटना बढ्नुको मुख्य कारण चालकको लापरबाही र सवारीसाधनको अवस्था देखिएको छ।’
उनका अनुसार विस्तारको क्रममा रहेको राजमार्गको काम अझै शतप्रतिशत पूरा भएको छैन। ठाउँठाउँमा डाइभर्सन छन। तीव्र गतिमा सवारी हाँक्ने चालकले डाइभर्सनको ख्याल गर्न सकेका छैनन्। ती डाइभर्सनले पनि दुर्घटना बढाएका छन्।
सडक प्रयोगकर्ताको सचेतनामा पनि समस्या रहेको उनले बताए। सडकको भौगोलिक अवस्था पनि दुर्घटनाको कारण रहेको उनले बताए। ‘दमौली नजिकैको कमलवारीमा बारम्बार ठुला ट्रक दुर्घटना हुन्छन्। ती दुर्घटना हुनुमा भौगोलिक अवस्था मुख्य समस्या छ,’ उनले भने।
थापाका अनुसार राजमार्गको भौगोलिक अवस्था कस्तो छ भने सिधा सडकमा गुडिरहेका सवारीले घुम्तीमा सन्तुलन गुमाउने र दुर्घटना हुने गरेका छन्। ‘तीव्रगतिले नै जीवन क्षति भइरहेको छ,’ उनले भने।
तीव्रगतिमा सवारी हाँक्न हुँदैन भन्ने ज्ञान र चेतना चालकमा नभएको उनी बताउँछन्। ‘लेन अनुशासनमा पनि समस्या छ। कुन गतिका सवारी कुन लेनबाट चलाउने भन्नेमा नागरिक सचेतना र चालक जिम्मेवार हुनुपर्छ,’ उनले भने, ‘चालकको आफ्नो कारणले मात्र नभइ अरु चालकका कारणले पनि दुर्घटना हुने गरेका छन्।’ कतीपय घुम्तीमा सडकको स्वरुप केही परिवर्तन गर्न सकिन्छ कि भन्नेबारेमा पनि छलफल चलिरहेको एसपी थापाले बताए।
उनका अनुसार कमलवारी घुम्तीको अवस्थालाई केही परिवर्तन गर्ने तयारी पनि छ। राजमार्गमा गुड्ने सवारीको गति नियन्त्रणका लागि ठाउँठाउँमा राडार गनसहितको टिम परिचालन गर्ने तयारी पनि ट्राफिक प्रहरीको रहेको उनले बताए।
‘अहिले जेजति दुर्घटना भएका छन्। तीमध्ये अधिकांश पूर्वीखण्डमा भएका छन्। पूर्वीखण्डको काम करिब सकिएको छ। पश्चिमखण्डमा केही बाँकी छ,’ उनले भने, ‘सवारी साधनको गति कम हुनासाथ जोखिम कम हुन्छ।’
राजमार्गको सहरी खण्डबाहेक अन्यत्र प्रतिघण्टा ६० किलोमिटरको गतिमा मात्र सवारी चलाउन पाइने उनले बताए। त्यस्तै सहरी क्षेत्रमा बढीमा ४० किलोमिटरको गतिमा मात्र सवारी हाँक्न पाइन्छ।
राजमार्गको दुलेगौंडा, खैरेनीटानर, दमौली, डुम्रेलगायतका खण्डमा प्रतिघण्टा ४० किलोमिटरको गतिमा मात्र सवारी गुडाउन पाइन्छ तर चालकले अधिक गतिमा सवारी हाँक्ने गरेको उनले बताए।
‘मानवीय गतिविधि कम भएका र सिधा खण्डमा मात्र प्रतिघण्टा बढीमा ६० किलोमिटरको दरले गाडी गुडाउन पाउने गरी ठाउँठाउँमा सूचना बोर्ड राखिएको छ तर चालकले पाएसम्म प्रतिघण्टा एक सय किलोमिटर भन्दा बढीको गतिमा सवारी हाँक्ने गर्छन्,’ एक ट्राफिक प्रहरी अधिकृत भन्छन्, ‘सडक त बन्यो, तर नियमकानुन पालना गर्नमा चालक चुकेका छन्। सडक सहज देख्नासाथ सवारीको गति बढाइहाल्ने चलन बढेको छ।’
राजमार्गको दमौली र डुम्रेमा ६ लेनको सडक छ। ती दुई सहरी क्षेत्रबाहेक अन्यत्र भने २–२ लेनको सडक छ। पोखरा मुग्लिन सडक आयोजनाको पश्चिम खण्डका प्रमुख इन्जिनियर कृष्ण कुँवरका अनुसार दुर्घटनाको हिसाबले जोखिमयुक्त ठाउँ पहिचान गर्ने काम भइरहेको छ।
‘चिल्लो बाटो देखेपछि सवारीको गति बढाउँदा दुर्घटनाको जोखिम थपिएको हो। अहिलेसम्म सडक पूरा भएको छैन तर सवारीको गति बढेको छ,’ उनले भने, ‘कतिपय ठाउँमा डाइभसर्न छन् तर चालकलाई तिनको हेक्कै छैन।’
प्रकाशित: ५ भाद्र २०८२ २१:२६ बिहीबार



