समाज

घरघरमा स्वास्थ्य कार्यक्रमबाट पोखराका ११ हजार बढी लाभान्वित

पोखरा महानगरपालिकाले ‘घरघरमा स्वास्थ्य कार्यक्रम’अन्तर्गत ११ हजार ८६२ जनालाई नसर्ने रोगको निःशुल्क परीक्षण तथा परामर्श सेवा प्रवाह गरेको छ।

यही असार १ गतेदेखि बिहीबारसम्म महानगरका १० वटा वडामा सञ्चालित उक्त कार्यक्रमबाट ज्येष्ठ, अशक्त र असहाय नागरिक लाभान्वित भएका हुन्।

उक्त कार्यक्रमका सहजकर्ता हरिलाल आचार्यका अनुसार वडा नं. १, ८, १०, १३, १४, १७, १८, १९, २० र २५ का टोलबस्तीमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिएको हो। महानगरले आगामी आवमा पनि उक्त कार्यक्रमका लागि बजेट विनियोजन गरेको उनले बताए। स्वास्थ्य महाशाखाको आयोजना र सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको समन्वयमा पोखरा–८ सिमलचौरबाट सुरु गरी अन्य वडा तथा टोलमा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो।

सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रका प्रमुख कुश्मराज सुवेदीले ज्येष्ठ तथा अशक्त नागरिकलाई घरदैलोमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले घुम्ती अभियान सञ्चालन गरिएको बताए। नसर्ने रोगको परीक्षणसँगै महिलालाई प्रजनन स्वास्थ्य, मनोरोग, सरुवा रोग तथा अन्य दीर्घरोग सम्बन्धी जानकारी दिइएको थियो।

“परीक्षण गरिएकामध्ये ६० प्रतिशतमा उच्च रक्तचापको समस्या देखिएको छ, मधुमेह, स्वासप्रस्वास, स्तन र पाठेघरको समस्या भएका बिरामी पनि पहिचान गरिएको छ”, उनले भने। वडा नं ८ का १७ वटा टोलमा घुम्ती शिविर सञ्चालन गरिएको थियो। उक्त वडाका एक हजार २०० जनाले सेवा पाएका थिए।  

प्रकाशित: २७ असार २०८२ ११:१९ शुक्रबार

# Nagarik