जेनजी आन्दोलनका क्रममा अशान्त बनेको पर्यटकीय सहर पोखराको अवस्था सामान्य बन्दै गएको छ। आगजनी, तोडफोड, हुलहुज्जतका कारण अशान्त बनेको पर्यटकीय सहर विहीबारदेखि भने शान्त बनेको छ। सडकमा सेना खटिएसँगै विरोधजुलुस, होहल्ला रोकिएका छन। सार्वजनिक यातायात संचालन नभएपनि पोखराबाट हुने हवाई सेवा सुचारु भएको छ। अस्पतालले नियमित सेवा दिइरहेका छन। शिक्षणसंस्था भने शुक्रबारसम्मका लागि बन्द गरिएको छ।
जेनजी आन्दोलनका कारण पोखरामा सरकारी कार्यालय, सरकारी उच्च अधिकारीको निवास, प्रशासनिक भवन, नीजि तथा प्रतिष्ठानमा ठूलो क्षती पुगेको थियो। आन्दोलनकारीको तोडफोड र आगजनीपछि कार्यालयबाट बिस्थापित भएको जिल्ला प्रहरी कार्यालय पनि बुधबारै कार्यालय फर्किएको छ।
आन्दोलनका कारण सबैतिर अस्तव्यस्त बनेको थियो। तोडफोड र आगजनीपछि के हुने हो भन्ने संशय पैदा भएको थियो। कहाँ कतिबेला के हुने हो भन्ने चिन्ता थपिएको थियो। तर विहीबारपछि भने पोखरा शान्त बनेको छ। कहिँकतै तोडफोड तथा आगजनीका घटना घटेका छैनन् भने हुलहुज्जत तथा होहल्ला पनि छैन। बरु आन्दोलनमा उत्रेको जेनजी पुस्ताले आन्दोलनका क्रममा तोडफोड र आगजनी गरेको ठाउँको सरसफाई गरिरहेको छ।
कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलीयाले कास्कीमा छिटपुट चोरीका घटनाबाहेक अवस्था सामान्य बन्दै गएको बताए। ‘आन्दोलनका कारण त्रसित पोखरा अहिले सामान्य अवस्थामा फर्किएको छ। कहिँकतै तोडफोड तथा आगजनी छैन। बरु चोरीका घटनाहरु भने छिटपुट भइरहेका छन्,’ ओलीयाले भने, ‘अवस्था सामान्य बन्दै गएको छ। यातायातका साधन नचलेकोले केही सुनसान देखिएपनि अवस्था सहज बनिसकेको छ।’ सार्वजनिक यातायातका साधनको रुपमा बस नचलेपनि ट्याक्सी भने फाट्टफुट्ट चलेका छन।
प्रहरीले आफ्नो जिम्मेवारी पूर्ववत रुपमा सम्हाल्ने प्रयास गरिरहेको उनले बताए। जिल्ला प्रहरी कार्यालय, बगर चौकी, नदीपुरस्थित प्रहरी विटलगायतमा भएको आक्रमण र आगजनीका कारण ध्वस्त भएको संरचना सामान्य रुपमा सरसफाई र मर्मतसम्भार गरेर सेवा दिन थालिएको एसपी ओलीयाले बताए। ‘पूर्ववत रुपमा सेवा दिने प्रयास भइरहेको छ,’ उनले भने, ‘जनतासँग प्रत्यक्ष जोडिएर सेवा दिनुपर्ने ठाउँमा भौतिक संरचना नभएपछि त्यसको प्रभाव त पर्ने नै भयो, तर सेवा दिन भने शुरु गरेका छौं।’
जिल्ला प्रशासन कार्यालय, कास्कीले लगाएको कफ्र्यु तथा निशेधाज्ञा जारी रहेपनि आवतजावतमा कुनै कठिनाई छैन। सार्वजनिक सवारी साधन नचलेपनि नीजि सवारी साधन निर्वाध रुपमा सञ्चालन भइरहेका छन्। नीजि सवारी साधनलाई सेनाले सोधपुछ गरिरहेको थियो। अत्यावश्यक काम बाहेकले घर बाहिर नहिड्न सेनाले सुझाउने पनि गरेको थियो। सामुहिक हुलहुज्जत नगर्न र काम नपरि अनावश्यक रुपमा हिंडडुल नगर्न सेनाले आग्रह गरेको थियो।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी शिव लम्सालले अधिकांश कार्यालय ध्वस्त भएकोले तत्कालै काममा फर्किन सक्ने अवस्था नरहेको बताए। ‘अधिकांश कार्यालयमा कुनैपनि संरचना बँचेका छैनन। एउटा कागजको खोस्टो र कलम समेत बचेको छैन। कर्मचारी कार्यालय आउने र सरसफाइमा जुट्ने बाहेक अरु काम गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘कास्कीका सरकारी कार्यालयले अझै एकसातासम्म सेवा दिनसक्ने अवस्था छैन।’
कार्यालयका क्षति भएका संरचनाको मुचुल्का निकाल्ने र सरसफाइ गर्ने बाहेक अहिलेका लागि काम गर्न सकिने अवस्था नरहेको उनले बताए। सेवाग्राहीले पनि अहिले कार्यालयबाट सेवा अपेक्षा नगरेको उनले बताए। अवस्था सामान्य बन्दै गएपनि बजार भने पूर्ण रुपमा खुलिसकेको छैन। भित्री पसलहरु सामान्य रुपमा खुलेपनि पोखराको मुख्य बजार महेन्द्रपुल, चिप्लेढुंगा लगायतका क्षेत्रका मुख्य पसल भने खुलेका छैनन।
विमानस्थल सुचारु
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि सुचारु भएको छ। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेसँगै बुधबार पनि पोखराबाट बुद्धको एउटा जहाज काठमाडौंका लागि उडेको थियो। त्यस्तै ल्हासाबाट आएर पोखरामै रोकिएको हिमालय एयरलाइन्सको जहाज पनि बुधबार काठमाडौं फर्केको थियो।
विहीबार भने नियमित उडान भईरहेको विमानस्थलले बताएको छ। विहीबार बुद्ध, यती र श्री एयरलाइन्सले नियमित उडान गरिरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्धक सुर्य खत्रीले बताए। उनका अनुसार विहीबार बुद्धका १३, यतीका ६ र श्री एयरलाइन्सको एउटा उडानको तालिका थियो।
‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित समयमै संचालनमा आएको हो। आधाभन्दा बढी उडान भईसकेका छन,’ खत्रीले भने, ‘यात्रुको भीडभाड रहेको छ। विदेशी र स्वदेशी यात्रु रहेका छन। दुइदिनसम्म उडान अवतरण अवरुद्ध हुँदा यात्रु मर्कामा परेकामा अब भने सहज यात्रा भइरहेको छ।’
लेकसाइड सुनसान
जेनजीको आन्दोलनले प्रभावित भएको पर्यटन क्षेत्र सुनसान बनेको छ। आन्दोलनका क्रममा केही पर्यटकीय संरचना ध्वस्त भएका थिए। त्रास र अन्योलताबीच पर्यटन क्षेत्र चलेपनि पाहुनाको संख्या भने निकै नै कम रहेको पर्यटन व्यावसायीले बताएका छन। लेकसाइडका कतिपय रेस्टुरेन्ट बन्द छन। तर, होटलले भने नियमित सेवा दिएका छन। होटल संघ गण्डकीका अध्यक्ष हरि शर्माले पर्यटन क्षेत्र अन्योलमा परेको बताए। ‘तोडफोड र आगजनीपछि पर्यटन क्षेत्र त्रसित बन्यो। अहिले सुनसान जस्तै बनेको छ। अन्योलतामा पर्यटन क्षेत्र परेको छ,’ उनले भने।
प्रकाशित: २६ भाद्र २०८२ १५:५४ बिहीबार