समाज

विराटनगरमा बन्दै पोड-वे

नेपालकै पहिलो पोड-वे विराटनगरमा निर्माण हुने भएको छ। काठमाडौं पोड-वे कम्पनीले पाइलट प्रोजेक्टका रूपमा पहिलो चरणमा रानी भन्सारदेखि विराटनगर बसपार्कसम्म सात किलोमिटर पोड-वे निर्माण गर्ने भएको हो।

पोड–वे निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षरसमेत भइसकेको कोसी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाले जानकारी दिए।

कोइरालाका अनुसार विराटनगरको रानी भन्सारदेखि सुनसरीको भेडेटारसम्म पोड–वे बनाइने भए पनि पहिलो चरणमा पाइलट प्रोजेक्टका रुपमा रानीदेखि विराटनगर बसपार्कसम्म निर्माण गर्न लागेको हो। पोड–वे कम्पनीले विराटनगरमा कार्यालय स्थापना गरी डिपिआरलगायत काम थाल्ने तयारी गरेको छ।

अबको १० महिनामा डिपिआर सकेर भौतिक पूर्वाधार निर्माणमा लाग्ने र दुई वर्षभित्र रानीदेखि बसपार्कसम्म पोड–वे निर्माण सक्ने योजना रहेको कोइरालाले सुनाए।

पोड–वे निर्माणको काम अघि बढाउन कम्पनीले कोसी प्रदेश सरकारलाई ६० लाख रुपैयाँ बराबरको कार्यसम्पादन जमानत रकम पनि बुझाइसकेको जानकारी कोइरालाले दिए। रानीदेखि विराटनगर बसपार्कसम्म पोड–वे बनाउन ६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ।

पोड–वे सञ्चालनमा आएपछि सडक पूर्वाधार वा ट्राफिक व्यवस्थापनमा कुनै समस्या नआउने दाबी कोइरालाले गरे। उनले भने, ‘सडकको बिच भागमा मात्रै पोड–वे सञ्चालन हुने भएकाले ट्राफिक व्यवस्थापनमा कुनै समस्या पर्नेछैन।’

विशेष गरी भारतीय पर्यटकलाई सहज र चाँडो पर्यटकीय स्थल भेडेटार पुर्‍याउने उद्देश्यले पोड–वे निर्माण गर्न लागिएको जानकारी उनले दिए। उनका अनुसार हरेक दुई किलोमिटरमा पोड–वेका लागि स्टेसन राखिने छ।

रानीदेखि सुनसरीको भेडेटारसम्म पोड–वे निर्माण भएपछि रानी बोर्डरबाट सुनसरीको भेडेटार करिब ३० मिनेटमा पुग्न सकिने कोइरालाले बताए।

छोटो समय र सहज रूपमा पोड–वेबाट रानीदेखि भेडेटारसम्म पुग्न सकिने छ। पोड–वे निर्माणपछि थप भारतीय पर्यटक आकर्षित हुने पर्यटन व्यवसायीहरू बताउँछन्।

रानीदेखि भेडेटारसम्म पोड–वे निर्माण गर्न ६५ अर्ब रुपैयाँहाराहारी लागत अनुमान गरिएको छ। नेपालका विभिन्न स्थानमा पोड–वे निर्माणको चर्चा चले पनि प्रक्रिया पूरा गरी निर्माण चरणमा प्रवेश गरेको यो पहिलो आयोजना भएको प्राधिकरणका निर्देशक कोइरालाको दाबी छ। उनले निर्माण चरण प्रक्रियामा अघि बढेको मात्रै नभई भौतिक पूर्वाधार तयार हुने पनि यो पहिलो आयोजना बन्ने विश्वास व्यक्त गरे।

यो पोड–वे गत वर्ष कोसी प्रदेश सरकारले आयोजना गरेको प्रदेश लगानी सम्मेलनमा समावेश गरिएको थियो। प्रदेश लगानी सम्मेलनमा लगानी प्रतिबद्धता आएका आयोजनाहरू कार्यान्वयन हुने क्रममा छन्।

लगानी सम्मेलनमा प्रदेश सरकारले प्रस्तुत गरेका एक खर्ब ७३ करोडका परियोजनामध्ये १ खर्ब ५२ अर्ब १६ करोडका परियोजनाका समझदारीपत्रमा हस्ताक्षर (एमओयु) गरिएको थियो।

प्रदेश लगानी प्राधिकरणका अनुसार कृषिका आठ परियोजनामा ३ अर्ब, ऊर्जाका तीन परियोजनामा आठ अर्ब ६२ करोड, उद्योगका १२ परियोजनामा ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजनामा ३८ अर्ब ४१ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, पर्यटनका १० परियोजनामा ३४ अर्ब १९ करोड र फोहोरमैला व्यवस्थापनका २ वटा परियोजनामा ६० करोड रुपैयाँका एमओयु भएका छन्। लगानी सम्मेलनका क्रममा निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजनामा एमओयु भएको थियो।

कोसी प्रदेश लगानी प्राधिकरणले प्रदेशका चार  आयोजनाको लगानी स्वीकृत गरेको छ। यसै वर्ष पनि प्राधिकरणको ३३औं बैठकले सार्वजनिक निजी साझेदारी ढाँचामा २ अर्ब ८ करोड ५३ लाख रुपैयाँबराबरको लगानी स्वीकृत गरेको छ।

केही दिनअघि बसेको प्राधिकरणको बैठकले कोसी प्रदेश लगानी सम्मेलनमा प्रस्तुत गरिएका प्रस्तावहरूमध्ये सम्भाव्यताका आधारमा चार आयोजनालाई अन्तिम रूप दिएको जनाइएको छ।

जसमा सुनसरीको दुहवी–४ मा ५५ करोड ९५ लाख रुपैयाँ लागतमा आधुनिक फोहोरमैला व्यवस्थापन परियोजना निर्माण हुनेछ। यसको जिम्मेवारी रिभाइभ इन्फ्राटेक एन्ड इन्भेस्टमेन्टले पाएको छ।

त्यस्तै दुहवी–४ र १० मा ३४ करोड रुपैयाँ लगानीमा मल्टी चेम्बर एण्ड कोल्ड स्टोरेज निर्माण योजना स्वीकृत भएको छ। यो आयोजना दीर्घायु एग्रो एन्ड इन्भेस्टमेन्टले निर्माण गर्नेछ।

यसैगरी उदयपुरको बेलका–९ मा रामपुर बहुउद्देशीय कृषि फार्मले २० करोड रुपैयाँ लगानीमा फोहोरमैला व्यवस्थापनसहितको मल कारखाना र पशुपालन परियोजना सञ्चालन गर्ने भएको छ। सुनसरीको रामधुनी–७ स्थित रास ताल क्षेत्रको पर्यटकीय विकास र सञ्चालनका लागि अर्बान एक्सप्लोरर प्रालिले अनुमति पाएको छ।

प्रकाशित: १९ आश्विन २०८३ १२:२६ सोमबार