काठमाडौंको बौद्धमा गाईजात्रा तथा रोपाई जात्रा (घोनाइ) हुने भएको छ । जात्रा साउन २५ र २६ गते दुई दिन हुने छ। गाईजात्रा तथा रोपाई जात्रालाई तामाङ भाषामा घोनाई भनिन्छ । घोनाई पर्व मुख्य गरी जनै पूर्णिमादेखि प्रारम्भ भई गाईजात्रा हुँदै रोपाइँ जात्रामा समापन हुन्छ । जनै पूर्णिमाको दिनलाई स्थानीय तामाङ भाषामा ’घोनाई ड्या’ भनिन्छ । यस दिन बिहानै मन्दिर, चैत्य, कुल देवता र खेत–खेतमा क्वाँटी र तीतेपाती चढाइन्छ र घर–घरमा क्वाँटी खाने गरिन्छ ।
श्री बौद्ध तामांग कल्याण गुठी काठमाडौं महानगरपालिका वडा नं ६ बौद्धले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी पर्व मनाउनका लागि गाईजात्रा तथा रोपाइ जात्रा (घोनाइ जात्रा) मूल समारोह समिति गठन गरेको बताएको छ। सम्मेलनमा गाईजात्रा तथा रोपाइ जात्रा (घोनाइ जात्रा) मूल समारोह समिति २०८२ का संयोजक जयमंगल लामाले काठमाडौं महानगरपालिका वडा नं ६ को विशेष सहयोगमा दुई दिन कार्यक्रम हुने जानकारी गराए ।
उनका अनुसार साउन २५ गते दिउँसो साढे ३ बजे घिन्तान्गिसी (गाईजात्रामा नेवार समुदायमा लट्ठी जुधाएर खेलिने नाच) प्रदर्शन हुनेछ । साथै २६ गते १२ देखि २ बजेसम्म सांस्कृतिक कार्यक्रम, साढे २ देखि गाईजात्राको रयाली र साँझ ५ बजे औपचारिक तथा पुरस्कार वितरण कार्यक्रम हुनेछ । रोपाइ जात्राको रयालीको रुटमा बौद्ध स्टुपा परिक्रमा हुने जनाइएको छ । यस अन्तर्गत बौद्ध फूलबारी, बौद्ध गेट, बौद्ध पिपलबोट मूल सडक, बौद्ध टुसाल चोक मूल सडक, बौद्ध गेट, बौद्ध स्टुप परिक्रमा भई औपचारिक तथा पुरस्कार वितरण कार्यक्रम हुनेछ ।
सांस्कृतिक नगरी बौद्धको रोपाइँ जात्रा हाम्रो सांस्कृतिक विविधताभित्रको पहिचान हो, पत्रकार सम्मेलनमा काठमाडौं महानगरपालिका वडा नं ६ बौद्धका वडा अध्यक्ष भुबन लामाले भने,'यो हाम्रो अमूर्त सांस्कृतिक सम्पदा हो । संस्कृति राष्ट्रको गौरव हो ।' जात्रालाई निरन्तरता दिइराख्न जात्रामा सहभागी हुनेहरूलाई नगदसहितको पुरस्कारको पनि बन्दोबस्त गरेको उनले जानकारी गराए ।
रोपाइँको प्रतीकात्मक स्वरूप झझल्को दिने गरी रोपार, बाउसे, हलीको भेषमा अभिनय सहित मनोरञ्जन गर्दै रोपाइँ जात्रा मनाउने जनाइएको छ । ती नाचमा सहभागीहरूको मूल्याङ्कन गरी पुरस्कार प्रदान गरिने जनाइएको हो ।
पुरस्कारको रुपमा हल गोरु प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः १० हजार, ७ हजार, ५,००० र २ हजार पाँच सय नगद पुरस्कार प्रदान गरिने जनाइएको छ । यसरी नै युवा बाउसे, युवा रोपार, बाल रोपार, बाल बाउसे, व्यङ्ग्य, हास्य, युवा लाखे, वाल लाखे, झाँकी, घोडा, विद्यालयहरु र घोनाई मौलिक नाचलाई पनि नगद पुरस्कार प्रदान गने जनाइएको छ ।
नेवारी भाषामा गाईजात्रालाई ’सापारु’ भनिन्छ । विशेष गरी गाईजात्रा नेवारी समुदायले मनाउने गर्दछन् जुन मृत्यु सँस्कारसँग सम्बन्धित पर्व हो । असार महिनाको रोपाइँको काम सकेर फुर्सदिला बनेका किसानहरू अर्कोतर्फ दिवङ्गतको स्मृतिमा घर–घरबाट रोपार, बाउसे बनाई रोपाइँ जात्रामा सहभागी गराउने चलन छ ।
रोपाइँजात्राको उद्भव सम्बन्धी ठोस प्रमाण र आधार प्राप्त हुन नसकेको पत्रकार सम्मेलनमा बताइयो । यद्यपि लोक धारणा र प्रचलित किम्बदन्तीको आधारमा गाईजात्रा भन्दा अघिको जात्रा रहेको जनाइएको छ ।
प्रकाशित: २२ श्रावण २०८२ १८:५६ बिहीबार