समाज

शैक्षिक इतिहासको साक्षी ‘पिँढी पाठशाला’

कुनै समयको चर्चित भनाइ थियो, ‘शिक्षा नपाए कि जानु काशी, कि जानु कास्की’। प्राचीनकालदेखि नै शिक्षाको विशिष्ट गन्तव्यका रुपमा चासो र चर्चा कमाएको कास्कीमा १८–१९औँ शताब्दीतिर अन्नपूर्ण गाउँपालिका, पाउँदुरमा सञ्चालित पिँढी पाठशाला र विन्ध्यवासिनी क्षेत्रमा सञ्चालित पठनपाठनका कारण यो क्षेत्र शिक्षाको केन्द्रका रूपमा रहेको थियो।

तत्कालीन समयमा पाउँदुरमा पौडेल थरका व्यक्तिले पिंढीमा राखेर पढाउने भएकै कारण त्यसबेला पिंढी पाठशाला भन्ने गरिन्थ्यो। उक्त समयमा विन्ध्यवासिनी आसपासमा पराजुली र रेग्मी थरका विद्वानले गुरु, शिष्य परम्परानुसार नै पठनपाठन गराउँदै आएको पाइन्छ।

कास्कीमा सञ्चालित गुरुकुल शिक्षा प्रणालीकै जगमा १९५८ सालमा प्रधानमन्त्री देवशमशेरका पालामा मुलुकभर प्राथमिक पाठशाला खोल्ने नीतिअनुरूप परम्परागत गुरुकुल चलेकै स्थान विन्ध्यवासिनी क्षेत्रमा रुद्रनाथ पौडेल (अघौँ) तथा पं श्री गुणानिधी पराजुली (मिरुवा, पोखरा) समेतको पहलमा औपचारिक विद्यालय खुलेको शिक्षासेवी एवं संस्कृत माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीले  बताए।

उनको अनुसार सुरुआतमा यस विद्यालयमा संस्कृत एवं नेपाली श्रेस्ता शिक्षा विषयको दुई गुरुबाट पठनपाठन गराउने व्यवस्थाको सूत्रपात भएको थियो। पहिला यहाँ पढेका, पढाइएका विद्यार्थी संस्कृत शिक्षाको परीक्षा दिन बनारस जानुपर्ने र श्रेस्ता शिक्षाको परीक्षा दिन काठमाडौं जानुपर्ने व्यवस्था रहेकामा पछि निजामती प्रथमा यहीँ हुने र निजामती मध्यमा गर्न काठमाडौं जानुपर्ने प्रावधान रहेको उनले बताए।

पोखरा महानगरपालिका–१ भीमकाली पाटनस्थित संस्कृत माध्यमिक विद्यालय जिल्लाको मात्र नभई समग्र गण्डकी प्रदेशको नै जेठो विद्यालय हो। २०२८ सालको राष्ट्रिय शिक्षा पद्धतिको योजनाको सुरुआतसँगै तत्कालीन शिक्षा ऐनले निर्देश गरेबमोजिम यस विद्यालयमा पनि विद्यालय व्यवस्थापन समिति गठन प्रारम्भ भएको पाइन्छ। यस ऐनले निर्देश गरेबमोजिमको विद्यालयको व्यवस्थापनको लागि पहिलो अध्यक्षको जिम्मेवारी भोलानाथ पराजुलीले लिएका थिए।

त्यसपछि विद्यालयको अध्यक्षको जिम्मेवारीमा क्रमशः मुकुन्दशरण उपाध्याय, तेजनाथ घिमिरे, तीर्थ श्रेष्ठ, मोतीमान शाक्य, केशवराज पराजुली, चक्रपाणी सुवेदी, चिजमान गुरुङ, राजेन्द्ररमण पराजुली, गोविन्द नेपाली, ईश्वरीलाल श्रेष्ठ हुँदै हाल विष्णुप्रसाद अधिकारी छन्।

त्यस्तै विद्यालयको शैक्षिक प्रशासनतर्फ स्थापनाकालीन समयमा प्रधानाध्यापकको जिम्मेवारी रुद्रनाथ पौडेलले सम्हालेका थिए। पछि क्रमशः गुणनिधि पराजुली, देवीरमण पराजुली, शिवकुमार रेग्मी, सोमनाथ रेग्मी, टङ्कनाथ पराजुली, बालमुकुन्द रेग्मी, बद्री पहारी, शुकदेव बराल, इन्द्रप्रसाद पराजुली, आत्माराम बाँस्तोला, जनार्दन त्रिपाठी, तोयनाथ पौडेल, तारा पाखे, दामोदर बाँस्तोला, कृष्णप्रसाद देवकोटा, गोविन्दप्रसाद सिग्देल हुँदै हाल श्रीकृष्ण सिग्देलले विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका छन्।

अभिलेखअनुुसार विद्यालयमा २०१३ सालमा सुन्दरप्रसाद मर्सानीको अध्यक्षतामा रहेको समितिले विर्तावाल रत्नाकर पराजुलीबाट राजकीय संस्कृत प्रधान पाठशालाका नाममा जग्गा हस्तान्तरण गराई पठनपाठनको समुचित व्यवस्था मिलाइएको पाइन्छ।

त्यस्तै २०२१ सालमा अञ्चलाधीश नन्दबहादुर मल्ल अध्यक्ष रहेको समितिले विर्तावाल रत्नाकर पराजुलीबाट हस्तान्तरित जग्गामा भवन निर्माण गराइएको देखिन्छ।

विर्ताबाट विद्यालयलाई प्राप्त हुन आएको ८२ रोपनी जग्गामध्ये १० रोपनी जग्गा यहीँ रहेको विन्दुबासिनी संस्कृत विद्यापीठलाई प्रदान गरी संस्कृततर्फको उच्च शिक्षातर्फका कक्षाहरू सञ्चालन भइरहेको छ। विद्यालयमा २०२८ सालको नयाँ शिक्षा लागु हुनुअघि संस्कृत, नेपाली, व्याकरण मात्र पठनपाठन गराइँदै आएकोमा २०२८ सालपछि अनिवार्य शिक्षासमेत समावेश गरी राजकीय संस्कृत प्रधानपाठशालाबाट संस्कृत माध्यामिक विद्यालय नामकरण गरिएको व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले बताए।

संस्कृत शिक्षाप्रतिको आकर्षण बढाउन २०७४ सालदेखि विद्यालयमा देशका दूरदराजमा रही शिक्षा प्राप्तिको अवसरबाट वञ्चित विद्यार्थीहरूलाई निःशुल्क आवास एवं भोजनको व्यवस्था गरिएको उनले बताए।

विद्यालयलाई वास्तविक योजनाअनुरूप सञ्चालन गर्न विद्यालय सुधार योजनाको निर्माण तथा सोको निरन्तर सुधार, परिमार्जन र कार्यान्वयनसँगै विगतको विद्यार्थीको २२० जना पुर्याइएको छ।

विद्यालयका आवासीय बटुकहरूद्वारा नियमित रूपमा ध्यान, रुद्राभिषेक, विष्णु सहस्रनाम पाठलगायत अध्यात्मिक क्रियाकलापसमेत सञ्चालन गरिएको छ। विद्यालयमा अध्यापन गरिने कर्मकाण्डलगायत विषयको प्रयोगात्मक कक्षाका रूपमा मन्दिर एवं हवन कुण्ड आदिको निर्माणसमेत गरिएको उनले जानकारी दिए।

भौतिक पूर्वाधार विकासमा उल्लेख्य उपलब्धि

विद्यालयमा विसं २०७८ साउनदेखि अधिकारीको नेतृत्वमा व्यवस्थापन समिति गठनसँगै भौतिक पूर्वाधारलगायत क्षेत्रमा पनि उल्लेख्य विकास भएको प्रधानाध्यापक श्रीकृष्ण सिग्देलले बताए। यस अवधिमा विद्यालयमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा करिब रु ९२ लाखको सहयोगमा चारकोठे पक्की भवन, पानीट्याङ्की र शौचालय निर्माण गरिएको छ।

विद्यालय परिसरमा करिब दुई वर्षदेखि रोकिएको शिव पाञ्चायन मन्दिरको निर्माण सम्पन्नसँगै परिसरमा  शिवलिङ्ग, गणेश, विष्णु, देवी सूर्य (शिव पाञ्चायन)सहित लक्ष्मीनारायण, राधाकृष्ण, सीताराम, सरस्वती, अष्टचिरञ्जीवी र नवग्रहका प्रतिमाहरूको व्यवस्थापनसहित प्राणप्रतिष्ठा गरी नित्य पूजाको थालनी गरिएको छ। मन्दिर परिसरमा हवन कुण्डको निर्माण गरिएको छ भने रोटरी क्लबको सहयोगमा करिब रु ३६ लाखको लागतमा चारकोठे पक्की भवन थप गरिएको छ।

पोखरा महानगरपालिका शिक्षा महाशाखाको सहयोग तथा गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, पोखरा महानगरपालिकाको सहयोग र विद्यालयको आन्तरिक स्रोतमा अडिटोरियम हलको निर्माण, विज्ञान प्रयोगशालाको स्तरवृद्धि, भवन निर्माण तथा गुरुकुलमा बसोबासको व्यवस्था मिलाइएको छ।

विभिन्न सहयोगदाता, सङ्घसंस्थाको समन्वयमा विद्यालय तथा शिवपाञ्चायन मन्दिर परिसरभित्र पुष्पबाटिका निर्माण, सात वटा चौतारी निर्माण तथा धार्मिक महत्वका बिरुवा रोपन गरिएको छ। पोखरा महानगरपालिका–१ तथा विभिन्न अक्षयकोषदाता तथा सहयोगदाताको सहयोगमा छात्रवृत्तिको व्यवस्था गरिनुको साथै विभिन्न दाताको सहयोगमा खानेपानी, खेल मैदानको निर्माण भएको छ।

विद्यालयको गुरुकुलतर्फ विगतमा ११ जना मात्र बटुक भएकामा हाल आवासीय बटुकको सङ्ख्या वृद्धि भई ७० जना पुगेको र उनीहरूलाई निःशुल्क आवास तथा भोजनको व्यवस्था गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए। गुरुकुल व्यवस्थापनका लागि छुट्टै उपसमितिको व्यवस्था गरिएको छ।

हाल गुरुकुलमा छ जना विशिष्ट सदस्य र १८६  आजीवन सदस्य रहेको उनले जानकारी दिए।

गुरुकुलको व्यवस्थापनका लागि आर्थिक स्रोत व्यवस्थापन गर्न महर्षि वैदिक फाउन्डेशनसँग सम्झौता भएको छ। उक्त फाउन्डेशनले मासिक रूपमा भोजन व्यवस्थापनका लागि ५० हजार र ध्यान शिक्षकका लागि  २२ हजार उपलब्ध गराउँदै आएको छ।

विद्यालयको शैक्षिक गुणस्तर तथा नतिजामा सुधार ल्याउन अतिन्यून शुल्कमा अतिरिक्त कक्षाको व्यवस्थापन गरी विद्यालयको बिएलई, एसइई, कक्षा १२ को नतिजामा उल्लेखनीय रूपमा सुधार गरिएको विद्यालयका सूचना अधिकारी श्रीकान्त सापकोटाले जानकारी दिए।

उनका अनुसार विद्यार्थीका लागि वेद तथा कर्मकाण्डसम्बन्धी अतिरिक्त कक्षाका साथै व्यावहारिक सीप प्रदान गरिएको छ। विद्यालयमा संस्कृत विषयतर्फ ‘प्लस टु’ को कार्यक्रम थप गरी सञ्चालनमा ल्याइएको छ भने नेपाल संस्कृत विश्वविद्यालयसँग समन्वय र सहकार्य गरी विद्यालयमा सञ्चालित दश जोड दुई कार्यक्रममा निःशुल्क रुपमा पढाउने व्यवस्था मिलाइएको छ। विद्यालयले भौतिक पूर्वाधारतर्फसँगै शैक्षिक गुणस्तरीयतामा पनि उत्तिकै सफल बनाउँदै लगिएको छ।

रासस

प्रकाशित: २९ फाल्गुन २०८२ १२:१७ शुक्रबार