समाज

करोडौंको पिली भ्युटावर प्रयोगविहीन

कर्णाली राजमार्गमै पर्ने पिली डाँडामा अग्लो र गोलाकार भवन छ। त्यो हो-पिली भ्युटावर। कालीकोटको खाँडाचक्र नगरपालिका -७ पिलीमा ६ करोड बढी लागतमा निर्माण गरिएको पिली भ्युटावर अहिले बेवारिसे बनेको छ। दुई वर्षअघि निर्माण गरिएको पिली भ्युटावरको प्रयोग रेखदेख एवं सञ्चालन गर्ने स्थानीय तहलाई डिभिजन वन कार्यालय कालीकोटले हस्तान्तरण नगर्दा बेवारिसे अवस्थामा पुगेको हो।

टावरका स्टिलका बार, सिसा चोरी हुन थालेका छन्। टावर बनेपछि पर्यटकीय गतिविधि बढ्ने र स्थानीयको आयआर्जनमा वृद्धि हुने आशामा रहेका स्थानीय ललित मल्ल भ्युटावर बनेको तीन वर्ष हुँदासम्म पनि सञ्चालनमा नआउँदा भ्युटावरको करोडौं लगानी खेर जानेमा चिन्तित छन्। युद्ध संग्रहालयको अवधारणामा निर्मित यो भ्युटावरमा एउटा गेट, तीनवटा प्रतीक्षालय, दुईवटा चौतारा, फाउन्टेनसहितको एउटा पानीपोखरी, एउटा टिकट काउन्टर र शौचालयजस्ता कंक्रिट संरचना छन्।

पिलीलाई नमुना बनाउन विभिन्न पूर्वाधार निर्माण गर्न २०७९ सालमा डिभिजन वन कार्यालय कालीकोटले ८ करोड ८९ लाख ९१ हजार रुपैयाँको टेन्डर आह्वान गर्‍यो। यही युद्ध संग्रहालयका लागि कुशेश्वर कन्स्ट्रक्सन प्रालिले ६ करोड ८९ लाख ९९ हजार लागतमा दुई वर्षअघि भ्युटावर निर्माण गरेको हो, तर सञ्चालनमा नआउँदा भ्युटावरको करोडौं लगानी खेर जाने देखिन्छ।

२० मिटर अग्लो भ्युटावरले खाल्डाखुल्डी र पहिरोले बिगारेको छेउकै कर्णाली राजमार्गलाई भने गिज्याइरहेको छ। साँघुरो र कमजोर सडकले सवारी चालक र यात्रुलाई वर्षौंदेखि सास्ती भइरहेको छ। कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पिली युद्ध पर्यटकीय गन्तव्य बनाउन उनकै पालामा करोडौं रकम विनियोजन गरेका थिए।

स्थानीय, प्रदेश तथा संघीय सरकारको अर्बौं रुपैयाँ बजेट स्वास्थ्य, शिक्षा र खानेपानीजस्ता आधारभूत आवश्यकताभन्दा बाहिर गएर भ्युटावर निर्माणमा खर्च भए पनि ती संरचना हाल संरक्षण र सञ्चालन अभावमा अलपत्र परेको युवा हिक्मतजंग मल्लले बताए।

उनले जनतालाई अस्पताल, विद्यालय र रोजगारी चाहिएका बेला राजनीतिक जस लिन अनुत्पादक क्षेत्रमा लगानी गरिनु बजेटको बर्बादी रहेको उनले बताए। डिभिजन वन कार्यालय कालीकोटले भ्युटावर सञ्चालनका लागि खाँडाचक्र नगरपालिकालाई हस्तान्तरण नगरेको जनाएको छ। डिभिजन वन कार्यालयले पालिकालाई हस्तान्तरण नगरेपछि अलपत्रजस्तै छ।

डिभिजन वन कार्यालय कालीकोटमार्फत यहाँ विभिन्न पूर्वाधार निर्माण भएका छन्। युद्ध संग्रहालय, रेलिङसहित करिब १९ सय मिटर पैदल मार्ग, पौडी पोखरी, पार्किङ, प्रवेशद्वार, भ्युटावर, टिकट काउन्टर, बुट्यानसहितका दुईवटा चौतारा, शौचालय र गेट निर्माण गरिएको छ।

युद्धको अन्तिम लडाइँ

तत्काली नेकपा माओवादीले सञ्चालन गरेको दसबर्से सशस्त्र युद्धका क्रममा अन्तिमपटक लडाइँ भएको स्थान हो -पिली। कर्णाली राजमार्ग निर्माणमा खटिएको तत्कालीन शाही नेपाली सेनाको ‘निर्माण कार्यदल’ माथि २०६२ साउन २३ गते माओवादीले गरेको आक्रमणमा सेनातर्फ ७५ जनाले ज्यान गुमाएका थिए। माओवादीतर्फ पनि त्यत्तिकै हाराहारीमा हताहती भए पनि त्यो बाहिर आएन। 

प्रकाशित: १८ कार्तिक २०८३ ११:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App