कालीकोट जिल्लाको कर्णाली राजमार्गको पान्तडी-बिर्तामोड जोड्ने तिला नदीमाथि निर्माण हुने पक्की पुलको भौतिक प्रगति शून्य देखिएको छ। महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहसहितको टोलिले पुलको अनुगमन गर्दा प्रगति शून्य देखिएको पाइएको हो।
डिजाइन र पक्की पुल निर्माणका लागि सडक विभागअन्तर्गतको पुल महाशाखाले २०७७ चैत १२ मा गरेको ठेक्का महादेव खिम्ती निर्माण सेवाका रवि सिंहले आठ करोडमा पाएका थिए। सम्झौतापत्रमा ठेकेदारले २०८० असार १२ मा पुल निर्माण गरिसक्नुपर्ने उल्लेख छ। अवधि सकिएको साढे २ वर्ष बितिसक्दा पनि तिला नदीमा पक्की पुल निर्माणको भौतिक प्रगती शून्य देखिएको छ।
महादेव खिम्ती निर्माण सेवा काठमाडौंले आठ करोड ३९ लाख लागतमा पुल निर्माणको सम्झौता भएको थियो। उक्त सम्झौतापत्रमा २०८० साल असार १२ गते पुल निर्माण गरिसक्ने उल्लेख छ।
महादेव खिम्ती निर्माण सेवा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको हो। निर्माण व्यवसायी महासंघका अध्यक्षले समेत पुल निर्माणमा व्यवास्था गरेपछि अहिले पनी स्थानीयले सास्ती खेप्न गरेको छ।
ठेक्का सम्झौता भएको साढे २ वर्षसम्म पनी पुलको प्रगति शून्य रहेको छ। ‘ठेकेदारले काम सुरु नै गरेको छैन’, महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले भने, ‘ठेकेदारको लापरबाहीले जनताले दुःख पाएका छन्। पान्तडी-बिर्तामोड पुलको प्रगति शून्य छ।’
पान्तडीमा पुल नबन्दा महावै गाउँपालिकाका वासिन्दा कर्णाली राजमार्गसँग जोडिन नसकिएको उनको गुनासो छ।
‘पहुँचवाला ठेकेदार भएकाले कामै गरेका छैनन्। कहिले स्थानीयको अवरोध, कहिले बाढीपहिरो त कहिले कोभिड भन्दै म्याद थप्दै आएका छन्।’,
सिंहले भने, ‘पुल छिटो बनाउन गाउँपालिकाले पटकपटक ताकेता पत्र लेखे पनि कुनै सुनुवाइ भएन।’ पुल निर्माणस्थलमा खाल्डो खन्नेबाहेक कुनै काम भएको छैन। पुल निर्माणको ठेक्का म्याद भने ठेकेदारले पहुँचका भरमा थप्दै आएका छन्।
कालीकोटको सेरीघाटदेखि शुभकालिका र महावै हुँदै खाँडाचक्रको बिर्तामोड जोड्ने पक्की पुल निर्माणका नहुदा स्थानीय सहजै सडक संज्यालको पहुचमा छैनन्। पुलको डिजाइन समयमै स्वीकृत नगरिदिँदा निर्माण कार्यमा ढिलाइ भएको महादेव खिम्ती निर्माण सेवाले जनाएको छ।
अहिलेको हकमा काम सुरु गरेको र जग्ग खन्ने काम भईरहेकाले जग्गको काम नदेखिने हुदा कामको प्रगती शून्य देखिएको निर्माण कम्पनीका रबिन जोसीले बताए। उनका अनुसार अहिले साइडमा जग्गका लागि चाहिने रडहरु समेत झारिसकेको छ।
महावै र शुभकालिका गाउँपालिकालाई कर्णाली राजमार्गसँग जोड्ने पान्तडी पक्की पुल निर्मार्णका लागि निर्माण व्यवसायीलाई पुल महाशाखाले समेत पटकपटक अनुरोध गर्दा पनि काम सुस्त गतीमा सुरु गरेको र अनेक बहाना देखाएर ठेकेदारले काम नगरेको पुल सेक्टर नं ५ कार्यालय सुर्खेतका इन्जिनियर देवेन्द्र भट्टराईले बताए।
‘ठेकेदार कम्पनीलाई पटकपटक पत्र पठाउँदा पनि कामको प्रगति शून्य देखिएको बताए। गएको माघ १० मा म्याद थप र रकम भुक्तानी समेत गरेर काम सुस्त गतिमा राखेको उनको भनाइ छ।
अहिले पान्तडी- बिर्तामोड पुलको प्रगति शून्य जस्तै छ। पान्तडी-बिर्तामोड पुल बनाउने साइडमा केही थान मेशिनमात्र राखिएको छ। सोमबार महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले पुलको अनुगमन समेत गर्दा प्रगति शून्य देखिएको पाइएको छ।
तिला नदीमा पक्की पुल नबन्दा गेलाका स्थानीय पिली र बिर्तामोडबाट हिँडेर गाउँ पुग्न बाध्य भएको स्थानीयको भनाइ छ। यहाँ पुल बनेपछि सुर्खेतबाट जुम्ला जाने गाडी मान्मको उकालो नगएरै भर्तागाड, सुकाटिया, मुग्राहा हुँदै गेलाको पान्तडीबाट बिर्तामोडमा कर्णाली राजमार्गमा जोडिने छन्।
प्रकाशित: २७ फाल्गुन २०८२ ०८:२२ बुधबार