विपद्बाट विस्थापित परिवारलाई स्थायी एकीकृत आवास गृहमार्फत व्यवस्थापन गर्ने कार्यलाई ताप्लेजुङको मैवाखोला गाउँपालिकाले नमूना परियोजनाको रूपमा अघि बढाउने भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अस्थायी आवास गृहमा बसोबास गरिरहेका मैवाखोलाका पहिरोबाट विस्थापित ६५ घर परिवारलाई स्थायी पुनर्वासका लागि लागि पालिकाले अघि बढाएको प्रकृया स्वीकृत गरेसंगै पालिका अध्यक्ष विजयप्रकाश वनेमले अब यो पालिकाको नमूना परियोजना हुने बताएका छन्।
‘यो हर्ष र खुसीको विषय हो,’ विपद् पीडितलाई स्थायी पुनर्वासका लागि पालिकाले चालेको प्रकृयालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्वीकृत गरेसंगै पालिका अध्यक्ष वनेमले भने। प्राधिकरणले स्थायी पुनर्वास प्रकृया स्वीकृत गरेर प्रकृया अनुसार अघि बढ्न बाटो खुल्ला गरिदिएपछि मैवाखोलाले स्थायी पुनर्वास प्रकृयाका लागि जग्ग खरिद गर्ने, स्थायी आवासगृह निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्ने र आवास गृह निर्माण गर्ने पालिका अध्यक्ष वनेमले सुनाए।
२०८० साल असार २ गते गएको पहिरोका कारण अति उच्च जोखिममा परेका पालिकाको वडा नं ४ ओदकका ६२ परिवार, ताम्राङ (गाउँ)का २ परिवार र वडा नं ३ का एक परिवार गरी ६५ परिवारलाई पालिकाले निर्माणाधीन रंगशालामा अस्थायी आवास स्थल निर्माण गरी अस्थायी पुनर्वासको प्रबन्ध गरेको छ। पालिका अध्यक्ष वनेमले अस्थायी आवास स्थल हस्तान्तरण भएकै दिन २०८० साल अरसोज ८ गते स्थायी पुनर्वासका लागि चाँडै प्रक्रिया आरम्भ गर्ने घोषणा गरेका थिए।
त्यसयता पालिकाले स्थायी पुनर्वासका लागि उपयुक्त प्रकृतिको जग्गाको खोजी गर्दै २०८० साल माघ ४ गते सार्वजनिक सूचना समेत आह्वान गरेको थियो। गाउँपालिकाले वडा नं ४ स्थित तालदेखि पूर्व आहाल डाँडा, हेलिप्याड पश्चिम, जुकेपानी मुहानदेखि दक्षिण र कँदेले डाँडादेखि उत्तर भित्रको क्षेत्र तथा वडा नं ३ स्थित लुकुवा खोलादेखि पश्चिम, कागते खोलादेखि पूर्व, बाङ्गेलाम बस्तीदेखि उत्तर र लुकुवा तेर्सो सडकदेखि दक्षिणसम्मको क्षेत्रको जग्गाका धनीले प्रस्ताव पेश गर्न सक्ने बताएको थियो।
सोही अनुसार पालिकाको नजरमा अहिले लुकुवा क्षेत्रको जग्गा स्थायी पुर्नवासका लागि रोजाईमा परेको छ। कुल १ करोड ५० लाख ५३ हजार ७८७ रुपैयाँको लागतमा एकीकृत अस्थायी आवास स्थल निर्माण गरी विपद् पीडितलाई अस्थायी बसोबासको प्रबन्ध गरिँदै आएकोमा अब पालिकाले विपद् पीडित परिवारलाई स्थायी पुनर्वासको प्रक्रिया सुरु गर्ने भएको छ।
प्रकाशित: १ कार्तिक २०८२ १२:२८ शनिबार